एमालेले भन्यो- पोखरामा संघीय सांसदले प्रदर्शन गर्नु दण्डनीय हो

काठमाडौं । नेकपा एमालेले सहकारी संस्था बचत रकम दुरुपयोग संसदीय छानबिन विशेष समितिको प्रतिवेदन कार्यान्वयनको प्रक्रिया अघि बढिरहँदा राष्ट्रिय स्वतन्त्र पार्टीले गरिरहेको प्रदर्शन गैरकानुनी भएको भन्दै नेकपा एमालेले आपत्ति जनाएको छ । 

पार्टी महासचिव शंकर पोखरेलले बिहीबार एक विज्ञप्ति जारी गर्दै अनुसन्धान अभियोजन र न्यायिक प्रकृयालाई सहयोग गर्नु सबैको साझा कर्तव्य भएको बताएका छन ।

संसदीय विशेष समितिले बनाएको प्रतिवेदनको आधारमा किटान गरिएका व्यक्तिहरूलाई अनुसन्धान, अभियोजन र न्यायिक प्रक्रिया अघि बढेको र त्यसमा सहयोग गर्नु सबैको साझा कर्तव्य रहेको एमालेले बताएको छ । 

सहकारी ठगी प्रकरणमै सभापति पक्राउ परेपछि रास्वपाका नेता कार्यकर्ताहरू लगातार विरोध प्रर्दशनमा उत्रिएका छन्।

‘राष्ट्रसेवकलाई कानुनबमोजिम तोकिएको काम गर्न नदिने वा कर्तव्य पालना गर्न नदिने हिसाबले पाँच जनाभन्दा बढीको भेला गर्नु गराउनु आफैँमा कसुर हो’, एमालेले भन्यो, ‘यस्तो कसुरमा संघीय संसदको सदस्य उपस्थिति हुनु र यस्तो कसुर गर्न अरूलाई उक्साउनु पूर्णतः गैरकानुनी कार्य हो ।’

एमालेले सरकारका अख्तियारप्राप्त निकायबाट भइरहेको अनुसन्धान र अभियोजनको प्रक्रियामा बाधा पुर्‍याउने कुनै पनि प्रकारका गतिविधि नगर्नसमेत ध्यानाकर्षण गराएको छ ।

रविको पक्राउबारे सरकार र नेतृत्वलाई जोडेर चर्चा गर्नु अनुपयुक्त भएको पनि एमालेले जारी गरेको विज्ञप्तिमा उल्लेख गरिएको छ ।

 

प्रतिक्रिया