टर्कीको बिमान निर्माण कम्पनीमा हमला,५ जनाको मृत्यु,२२ जना घाइते

एजेन्सी । टर्कीमा एउटा बिमान निर्माण कम्पनीमा हमला हुँदा ५ जनाको मृत्यु भएको छ । 

टर्कीको अंकारा नजिकै रहेको  विमान निर्माण गर्ने एउटा कम्पनीको मुख्यालयमा बुधवार हमला हुँदा  पाँच जनाको मृत्यु भएको र २२ जना घाइते भएका बीबीसीले जनाएको छ ।

टर्कीका अधिकारीहरूका अनुसार उक्त घटनापछि टर्कीको सेनाले इराक र सिरियामा कुर्दिश विद्रोही समूह पीकेकेसँग सम्बन्धित स्थानमा हमला गरेको छ। टर्कीको रक्षा मन्त्रालयले एउटा विज्ञप्ति प्रकाशित गर्दै उक्त कारबाहीमा कुल ३२ स्थान ध्वस्त बनाइएको जनाएको छ।टर्कीका अधिकारीहरूका अनुसार राज्यको स्वामित्वमा रहेको अस्त्र र विमान निर्माण कम्पनीमा बुधवार दुई जनाले हमला गरेका थिए। आन्तरिक मामिलामन्त्री अलि येर्लिकायाले आक्रमणकारीमध्ये एक महिला र एक पुरुष रहेको जनाएका छन् ।  सुरक्षाकर्मीहरूले गरेको प्रत्याक्रमणमा दुवै जनाको मृत्यु भएको छ । सामाजिक सञ्जालमा राखिएको भिडिओमा सशस्त्र आक्रमणकारीले कारबाट बाहिर निस्किनासाथ गोली प्रहार गरेको थिए ।

टर्कीका सरकारी निकायहरूले सञ्चारमाध्यमलाई उक्त भिडिओ प्रसारण गर्न प्रतिबन्ध लगाएका छन् भने सामाजिक सञ्जाल सञ्चालनमा पनि रोक लगाइएको छ ।

प्रतिक्रिया