पोखरामा तर्सियो रा.स्व.पा- कार्यकर्ताले दिएनन् साथ, काठमाडौं केन्द्रित आन्दोलन गर्ने

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले काठमाडौं केन्द्रित आन्दोलन गर्ने भएको छ । बिहीबार पोखरामा पत्रकार सम्मेलन गर्दै रास्वपाले अब काठमाडौं केन्द्रित आन्दोलन गर्ने बताएको हो ।

गत शुक्रबार सभापति रवि लामिछाने सहकारी ठगी र संगठित अपराध कसुरमा पक्राउ परेदेखि नै रास्वपाले पोखराकेन्द्रित आन्दोलन गरिराखेको छ ।

आन्दोलनका लागि पार्टीका सबै शीर्ष नेता, सांसदहरू पनि पोखरामै केन्द्रित छन् । जिल्ला–जिल्लाबाट पनि नेता, कार्यकर्ता पोखरा उतारेर प्रदर्शन र सभा गरिएको थियो ।

बिहीबार सभापति लामिछानेलाई जिल्ला अदालत कास्की उपस्थित गराइएको छ । दोस्रो पटक म्याद थप गर्नका लागि उनलाई अदालत लगिएको हो । यसअघि उनलाई ६ दिन हिरासतमा लिएर अनुसन्धान गरिएको थियो ।

बिहीबार नै रास्वपाका नेताहरूले पत्रकार सम्मेलन गरेर न्यायिक प्रक्रियामा झक्झक्याउनका लागि पोखराको आन्दोलन  सफल भएको दाबी गरेका छन् ।

उनीहरूले पोखराको आन्दोलन सम्भवत आज अन्तिम हुने र अब काठमाडौंकेन्द्रित हुने बताएका छन् ।

रास्वपा गण्डकी प्रदेश सभापति राजन गौतमले पोखराको आन्दोलन सम्भवत आज टुंग्याएर अब काठमाडौंकेन्द्रित आन्दोलन गरिने बताए ।

‘हामीले न्यायका लागि झक्झक्याउन सफल भयौं, पोखराकेन्द्रित आन्दोलन सफल भएकै हाम्रो निष्कर्ष छ,’ उनले भने, ‘पोखराकेन्द्रित आन्दोलन सम्भवत आज अन्तिम हुनेछ, अब काठमाडौंकेन्द्रित रहनेछौं ।’

पार्टीका कार्यवाहक प्रवक्ता मनिष झाले पनि अब काठमाडौंकेन्द्रित आन्दोलन गरिने जानकारी दिए । ‘अब काठमाडौंकेन्द्रित आन्दोलन हुन्छ । तर पोखरामा सभापति रहुन्जेल केही न केही कार्यक्रम त भइराख्छ,’ उनले भने ।

प्रतिक्रिया