नौ महिना देखि वडाध्यक्ष विहीन वडा कार्यालयमा ताला
खोटाङ । अमेरिका गएका साकेला गाउँपालिका–४ मात्तिमका वडाध्यक्ष अर्जुनकुमार कटवाल नौ महिना सम्म पनि कार्यालय नफर्के पछि स्थानीयले वडा कार्यालयमा ताला बन्दी गरेका छन् ।
वडाध्यक्ष कटवाल नफर्के पछि मात्तिमका पूर्ववडाध्यक्ष कृष्णप्रसाद भट्टराईको संयोजकत्वमा गठित सर्वपक्षीय समितिले तत्काल समस्या समाधान गर्न माग गर्दै तालाबन्दी गरेको हो ।
गत साउन २१ गते पूर्ववडाध्यक्ष भट्टराईको संयोजकत्वमा गठन भएको समितिले वडाध्यक्ष कटवाललाई १५ दिन भित्र उपस्थित हुन अन्तिमेत्थम दिएको थियो । उनी नफर्के पछि बाध्य भएर तालाबन्दी गरिएको पूर्ववडाध्यक्ष भट्टराईले बताए । यस सम्बन्धमा जिल्ला निर्वाचन आयोगको कार्यालय, गाउँ कार्यपालिका र जिल्ला समन्वय समितिलाई जानकारी गराइएको उनले बताए ।
वडाध्यक्ष कटवाल नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) बाट निर्वाचित हुन् ।
रासस
प्रतिक्रिया