मीनबहादुरले एमालेलाई जग्गादान दिएको विरुद्ध परेको रिटमा आज सर्वोच्चमा सुनुवाइ हुँदै

काठमाडौं । प्रधानमन्त्री के.पी. शर्मा ओलीको दल नेकपा एमालेले नयाँ पार्टी कार्यालय निर्माणका लागि मीनबहादुर गुरुङ सँग कीर्तिपुरमा लिएको जग्गा विरुद्ध परेको रिटमा बिहीबार सर्वोच्चमा सुनुवाइ हुँदैछ ।

भाटभटेनी डिपार्टमेन्ट स्टोरका सञ्चालक गुरुङले दानमा दिएको जग्गा लिनु र कुनै दलको पार्टी कार्यालय खोल्नु भ्रष्टाचार हुने दाबी सहित अधिवक्ता ज्ञानबहादुर बस्नेतले दायर गरेको रिटमा बिहीबारको लागि पेशी तोकिएको थियो । 

सर्वोच्चले शुरुमा सो रिट दर्ता गर्न अस्वीकार गर्दै दरपिठ गरेको थियो । तर, न्यायाधीश तिलप्रसाद श्रेष्ठको इजलासले मंगलबार दरपिठ बदर गर्दै दर्ता गर्न आदेश दिए पछि बुधबार रिट दर्ता भएको हो ।

रिटमा दश रोपनी चौध आना जग्गा दान दिने व्यक्ति विरुद्ध ललिता निवासको भ्रष्टाचार मुद्दा विचाराधीन रहेको अवस्था रहेको र विवादित व्यक्तिको जग्गा किन लिइयो भनी सार्वजनिक प्रश्न उठिरहेको समयमा सरकारकै नेतृत्व गरेका प्रधानमन्त्रीले भवन उदघाटन समेत गरेकाले अन्तरिम आदेश जारी गरी रोक्न माग गरिएको छ । 

निर्माण रोक्न पहिलो सुनुवाइमै अन्तरिम आदेश जारी गर्न माग समेत रिटमा गरिएको छ ।

प्रतिक्रिया