फिलिपिन्समा आँधीको कारण १४ जनाको मृत्यु

एजेन्सी । फिलिपिन्समा आँधी सँगै आएको बाढीका कारण १४ जनाको मृत्यु भएको छ । 

उक्त बाढीका कारण हजारौँ विस्थापित भएका छन् । बाढीमा फसेका बासिन्दाहरू समक्ष पुग्ने प्रयास गरे पनि सम्भव हुन सकेको छैन । मुसलधारे वर्षाले सडकहरू खोलामा परिणत भएका छन् भने पूरै गाउँ डुबानमा परेका छन् । 

अन्तर्राष्ट्रिय सञ्चार माध्यमका अनुसार उत्तरी फिलिपिन्समा बाढीले ३२ हजार मानिस आफ्नो घर छोडेर भागेका छन् । राजधानी मनिला बाट करिब ४०० किलोमिटर दक्षिणपूर्वमा रहेको बिकोल क्षेत्रमा अप्रत्याशित रूपमा उच्च बाढीले उद्धार कार्यलाई जटिल बनाइरहेको समाचारमा उल्लेख गरिएको छ । 

आँधीको केन्द्र लुजोनको इसाबेला प्रान्त बाट १५० किलोमिटर पूर्वमा रहेको थियो र अधिकतम निरन्तर हावा ९५ किलोमिटर प्रति घण्टा सम्म बढेको राष्ट्रिय मौसम एजेन्सीले जनाएको छ ।
 

प्रतिक्रिया