भारतीय प्रधानमन्त्री मोदी र चिनियाँ राष्ट्रपति सी बिच पाँच वर्ष पछि द्विपक्षीय वार्ता

एजेन्सी । चिनियाँ राष्ट्रपति सी जिनपिङ र भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी बीच पाँच वर्षपछि द्विपक्षीय भेट वार्ता भएको छ । 

रुसमा आयोजित ब्रिक्स बैठकको अवसरमा बुधबार सी र मोदी बीच भेटवार्ता भएको हो । वार्ता क्रममा दुई नेताले द्विपक्षीय सम्बन्ध सुधार गर्न काम गर्ने सहमति गरेका छन् । यसले सन् २०२० मा विवादित सीमामा दुवै देशका सैनिकबिच भएको झडप पछि छिमेकी राष्ट्रहरू बिच सम्भावित सुधारको सङ्केत गरेको छ । 

अन्तर्राष्ट्रिय सञ्चार माध्यमका अनुसार सीले मोदीलाई चीन र भारतले सहकार्य बढाउनुपर्ने बताएका छन् । सीले मोदीलाई दुवै देशले ‘अन्तर्राष्ट्रिय जिम्मेवारीहरू बहन गर्नुपर्ने, एकता मार्फत शक्ति खोज्ने विकासशील देशहरूका लागि उदाहरण बन्नुपर्ने र बहुध्रुवीय विश्व र अन्तर्राष्ट्रिय सम्बन्धहरूको लोकतान्त्रीकरणमा योगदान पुर्‍याउनुपर्ने’ बताएको समाचारमा उल्लेख छ ।

मोदीले चीन सँगको सम्बन्धमा ‘पारस्परिक विश्वास’ ले मार्गदर्शन गर्ने बताउँदै सीमा विवादमा भएको ‘सहमति’ लाई स्वागत गरेका छन् । भारत–चीन सम्बन्ध दुई देशका जनताका लागि र क्षेत्रीय तथा विश्व शान्ति र स्थिरताका लागि महत्त्वपूर्ण भएको मोदीले सामाजिक सञ्जाल एक्स मार्फत् उल्लेख गरेका छन् । 
 

प्रतिक्रिया