अर्थ मन्त्री पौडेल र एडिबीका उपाध्यक्ष बीच भेटवार्ता

वासिङ्टन । विश्व बैंक तथा अन्तर्राष्ट्रिय मुद्रा कोषको वार्षिक बैठकमा भागलिने सिलसिलमा यहाँ रहेका उपप्रधानमन्त्री तथा अर्थ मन्त्री विष्णु पौडेल र एसियाली विकास बैंक (एडिबी)का उपाध्यक्ष यिगमिन याग सँग भेटवार्ता भएको छ । 

त्यस अवसरमा उनीहरु बीच उक्त भेटघाटमा एसियाली विकास बैंकको वर्तमान पूँजी  तथा भविष्यमा नेपाल सँग हुनसक्ने सहकार्य बारे छलफल भएको यहाँ स्थित नेपाली राजदूतावासले जनाएको छ । उपप्रधानमन्त्री पौडेलले नेपालको विकास–निर्मााणका परियोजनामा बैंकले निर्वाह गरेको भूमिकाको प्रशंसा गरे । 

हालैको बाढी पहिरो बाट प्रभावित नेपाललाई  बैंकले ३० लाख अमेरिकी डलर अनुदान प्रदान गरेकामा उनले आभार व्यक्त गरे । उपाध्यक्ष यागले नयाँ साझेदारी रणनीतिको संरचनागत प्रक्रिया बारेमा मन्त्री पौडेललाई जानकारी दिएको उक्त राजदूतावासले जनाएको छ । 

यसैगरी, उपप्रधानमन्त्री पौडेलले विश्व बैंकका कार्यकारी निर्देशक विम्पी सपुत्रा सँग पनि भेटवार्ता गरेका छन् । निर्देशक सपुत्राले नेपालको विकास प्रयासमा बैंकको सहभागिता अभिवृद्धि गरिने आश्वासन दिएका थिए । 

उपप्रधानमन्त्री पौडेलले बिहीबार अन्तर्राष्ट्रिय वित्त निगमका उपाध्यक्ष रिकार्डो पुलिटी सँग पनि भेटवार्ता गर्नेछन् । 
रासस 

प्रतिक्रिया