सत्तारुढ नेकपा माओवादी केन्द्रको केन्द्रीय समिति बैठक आजदेखि सुरु
अध्यक्ष दाहालले राजनीतिक प्रतिवेदन पेश गर्ने
सत्तारुढ नेकपा माओवादी केन्द्रको केन्द्रीय समिति बैठक आजदेखि सुरु हुँदैछ । काठमाडौं कमलादीस्थित प्रज्ञा भवनमा केहीबेरपछि बैठक सुरु हुने तालिका छ । यसअघि बैठकको लाइभ गर्ने भनिएपनि स्थायी समितिले त्यसलाई स्थगित गरेको छ । स्थायी समितिले विधान संसोधन गर्ने निर्णय भने अनुमोदन गरेको छ । बैठकमा महासचिव देवप्रसाद गुरुङले बैठकको एजेन्डा तथा अध्यक्ष पुष्पकमल दाहालले राजनीतिक प्रतिवेदन पेस गर्ने तालिका छ । १३ महिनापछि बस्न लागेको बैठकमा नेताहरूको जिम्मेवारी बाँडफाँट, सङ्गठन विस्तारका लागि तीन महिने अभियान घोषणा, विधान तथा विशेष महाधिवेशन, सरकार र सदनलगायत विषयमा छलफल हुने जनाइएको छ । बैठकले सरकारको कामकारबाहीका बारेमा पनि समीक्षा गर्नेछ । पाँच दिनसम्म चल्ने बैठकमा सबै केन्द्रीय सदस्यहरूले अध्यक्षको प्रतिवेदनमा धारणा राख्नेछन । बैठकमा ३ सय ८५ केन्द्रीय सदस्य, १ सय ९८ वैकल्पिक केन्द्रीय सदस्य, प्रदेश समितिका १ सय पदाधिकारी तथा विभिन्न आयोगका ७५ जना गरी ७ सय ५८ जना सहभागी हुने पार्टीले जनाएको छ ।।
प्रतिक्रिया