बन्दीपुरमा २० किलोमिटर सडक कालोपत्र गरिँदै

तनहुँ । बन्दीपुर गाउँपालिकाले यस वर्ष २० किलोमिटर सडक कालोपत्र गर्ने भएको छ ।

पूर्वाधार विकास कार्यक्रम अन्तर्गत गाउँपालिकाले सडक कालोपत्र तथा स्तरोन्नतिलाई प्राथमिकतामा राखेको गाउँपालिकाका अध्यक्ष सुरेन्द्र थापाले जानकारी दिए । 

सङ्घीय सरकार, प्रदेश सरकार र स्थानीय सरकार बाट विनियोजित बजेट बाट गाउँपालिकाका सबै वडा जोड्ने बाटोमा बाह्रै महिना सवारीसाधन चल्ने बनाउन यो वर्ष २० किलोमिटर बाटो कालोपत्र गरिने उनले बताए । उनले भने, “सङ्घ र प्रदेश बाट पर्याप्त बजेट प्राप्त भएकाले अब धमाधम काम हुन्छ । ”

बेलभन्ज्याङ– बानियाँटार सडकमा एक करोड, रिमाल्नी– भुडाटार जाने सडकमा ५० लाख, बन्दीपुर– ढाडखोला मोटरमार्ग अन्तर्गत भुमर्से– हल्थुम्का सम्म तीन किमि सडक कालोपत्र, वडा २ कै सिमलटारमा ५० लाख, वडा नम्बर ३ नम्बरको सेराटारबाट सुखौरा जाने सडकमा दुई करोड, वडा नम्बर ३ को कार्यालय देखि रामकोट सम्म जाने सडकमा ५० लाखको कालोपत्रको योजना शुरु भएको अध्यक्ष थापाले जानकारी दिए। 

यसैगरी, वडा नम्बर ४ को बन्दीपुर रिङरोडमा कालोपत्र तथा प्रहरी बिट बाट टुँडिखेल जाने बाटो कालोपत्र भएको छ । अध्यक्ष थापाले शहरी आयोजना मार्फत शिखरडाँडा बाट तल्लो डुम्रे जाने बाटो कालोपत्र भएको जानकारी दिए । 

वडा नम्बर ५ को याम्पा र थुम्काको बीचमा पाँच सय मिटर ढलान, तीनधारा बाट वडा नम्बर ५ को कार्यालय बाहुनभन्ज्याङ जाने सडकमा दुई करोडको कालोपत्रको काम यथाशीघ्र शुरु गरिने थापाले जानकारी दिए । उनका अनुसार वडा नम्बर ६ को साँधभन्ज्याङ बाट घमलछाप सम्म  दुई करोडको बजेटमा कालोपत्र, वडा नम्बर ६ कै सराङघाट बाट भुतखोला सम्म एक करोडको लागतमा बाटो स्तरोन्नति भइरहेको छ ।

सङ्घीय र गण्डकी प्रदेश सरकार बाट गाउँपालिकालाई चालु आर्थिक वर्षमा पूर्वाधार तर्फ २० करोड बजेट प्राप्त भएको र उक्त बजेट बाट गाउँपालिकाका मुख्य सबै सडकमा कालोपत्र गर्ने लक्ष्य रहेको उनले बताए ।
रासस 

प्रतिक्रिया