साफ च्याम्पियनसिप फुटबल : बङ्गलादेशले भारतलाई हरायो

काठमाडौं ।  राजधानीमा जारी साफ महिला च्याम्पियनसिप फुटबलमा भारतलाई पराजित गर्दै बङ्गलादेश प्रतियोगिताको सेमिफाइनलमा प्रवेश गरेको छ । त्रिपुरेश्वरस्थित दशरथ रङ्गशालामा आज बुधबार  भएको खेलमा भारतलाई ३–१ गोलअन्तरले पराजित गर्दै बङ्गलादेश समूह ‘ए’ को शीर्ष स्थानमा रहँदै प्रतियोगिताको सेमिफाइनलमा पुगेको हो । बङ्गलादेशले दुई खेलबाट चार अङ्क बटुल्दै समूह ए को शीर्षस्थानमा रहेको हो । 
समान खेलबाट तीन अङ्क जोडेको भारत पनि समूह ए को उपविजेता बन्दै सेमिफाइनमा पुग्यो । पाकिस्तान भने प्रतियोगिताबाट बाहिरिएको छ । बङ्गलादेशलाई १–१ गोलको बराबरीमा रोकेको पाकिस्तान भारतसँग भने ५–२ ले पराजित भएको थियो । 

 आज बङ्गलादेशको जितमा तोहुरा खातुनले दुई तथा अफिदा खन्दाकेरले एक गोल गरिन् । पराजित भारतका लागि भने बाला देवीले एक गोल फर्काइन् खेलको १९औँ मिनेटमा बङ्गलादेशले सुरुआती अग्रता लियो । अफिदाले करिब सिक्स यार्डबाट प्रहार गरेको बलले जाली चुमेको थियो । त्यस्तै खेलको २९औँ मिनेटमा बङ्गलादेशले आफ्नो अग्रता दोब्बर पार्न सफल भयो । लामो पासमार्फत आएको बललाई गोल लाइन नजिकबाट तोहुराले गोल गर्दै टोलीको अग्रता दोब्बर बनाएकी हुन् । 

 खेलको ४२औँ मिनेटमा तोहुराले व्यक्तिगत दोस्रो तथा टोलीका लागि तेस्रो गोल गरिन् । उनले सामसुनार जुनियरले मिलाइदिएको क्रसलाई सदुपयोग गर्दै गोल गरेकी हुन् । तोहुराले गोल गरको एक मिनेट पनि बित्दै नपाउँदै भारतकी बाला देवीले एक सान्त्वना गोल गरिन् । खेलको विभिन्न समयमा भारतले गोल फर्काउने प्रयास गरे तापनि सफल हुन सकेन ।  साफ च्याम्पियसिपअन्तर्गत भोलि समूह बी का दुई खेल हुनेछन् । पहिलो खेल दिउँसो १ः३० बजे भुटान र माल्दिभ्सबीच प्रतिस्पर्धा हुनेछ । त्यस्तै दोस्रो खेलमा साँझ ५ः३० बजे नेपाल र श्रीलङ्का आमनेसामने हुनेछन् । 

प्रतिक्रिया