पाटन प्रिमियर लिग : निङ्गलाशैनी र पाटन स्टार विजयी

बैतडी । यहाँको पाटनमा जारी चौथौ संस्करणको पाटन प्रिमियर लिग (पिपिएल–४) मा आज बुधबार  पनि दुई खेल सम्पन्न भएका छन् । पहिलो खेलमा पाटन स्टारले सिगासलाई सात विकेटले हराएको हो भने दोस्रो खेलमा निङ्गलासैनीले सप्रालिलाई ६९ रनले पराजित गरेको हो । पाटन स्टारकाविरुद्ध सिगासले टस जितेर पहिला ब्याटिङ गर्दै निर्धारित २० ओभरको समाप्तीमा छ विकेट गुमाउँदै एक सय २८ रन बनाएको थियो ।

सिगासका विपिन बोहराले ३५, सिर्जनसिंह ऐरीले २३ तथा नवराज धामीले १७ रनको योगदान गरेका थिए । पाटन स्टारका आयुष ठगुन्नाले दुई विकेट लिए । एक सय २९ रनको विजय लक्ष्य पछ्याएको पाटन स्टारले १५ ओभरमा तीन विकेट गुमाउँदै लक्ष्य भेट्टाएको हो । पाटनका सुदर्शन भट्टले ६१ रनको अर्धशतकीय इनिङ खेले । यस्तै विष्णु विष्टले ४१ रनको योगदान दिए । सिगासका अनिल ऐरीले तीन विकेट लिए । पाटनका सुदर्शन म्यान अफ दि म्याच चुनिए ।

आजै भएको दोस्रो खेलमा सप्रालिका विरुद्ध टस जितेर पहिला ब्याटिङ गरेको निङ्गलाशैनीले निर्धारित २० ओभरमा आठ विकेट गुमाउँदै एक सय ९४ रन बनायो । निङ्गलाशैनीका विक्रम बोहराले ५७ रनको अर्धशतकीय इनिङ खेले । दीपक बोहराले ३६ रनको योगदान गरे । सप्रालिका प्रकाश भाटले दुई विकेट हात पारे । एक सय ९५ रनको विजयी लक्ष्य पछ्याएको सप्रालिले १६ दशमलव २ ओभरमा अलआउट हुँदै एक सय २५ रन मात्रै बनाउन सक्यो । उसका लागि राजु भाटले ३६ रनको योगदान गरे । निङ्गलाशैनीका ऋषिकेश बोहराले तीन तथा बसन्त बोहराले दुई विकेट लिए ।

निङ्गलाशैनीका विक्रम बोहरा म्यान अफ द म्याच चुनिए । पाटन क्रिकेट क्लबको आयोजनामा गत असोज ३० गतेदेखि सुरू भएको प्रतियोगितामा १७ टोलीको सहभागिता छ । सहभागी टोलीलाई छ समूहमा विभाजन गरेर खेल भइरहेका छन् । प्रतियोगिताको प्रथम पुरस्कार एक लाख २३ हजार चार सय ५६ नगदसहित ट्रफी, मेडल र प्रमाणपत्र प्रदान गरिने क्लबका अध्यक्ष किरन चन्दले बताए ।

द्वितीय पुरस्कार रु ५६ हजार सात सय ८९ नगदसहित ट्रफी, मेडल र प्रमाणपत्र प्रदान गरिने क्रिकेट क्लबले जनाएको छ । यसैगरी म्यान अफ द सिरिजबापत रु १२ हजार तीन सय ४५ नगदसहित ट्रफी, मेडल र प्रमाणपत्र प्रदान गर्ने छ । बेस्ट बलर र ब्याट्सम्यानलाई पनि समान रु छ हजार सात सय ८९ नगदसहित ट्रफी, मेडल र प्रमाणपत्र प्रदान  गर्ने छ  । यसअघि पहिलो संस्करणको पाटन प्रिमियर लिग (पिपिएल) क्रिकेटको उपाधि कैलपाल क्रिकेट क्लब जर्ग, दोस्रो भीमदत्त बहुप्राविधिक शिक्षालय (बिडिपीआइ) र तेस्रो मेलौली नगरपालिकाले हात पारेको थियो ।

प्रतिक्रिया