सङ्खुवासभामा नवौँ अरुण भ्याली फुटबल प्रतियोगिता सुरु

सङ्खुवासभा ।  सङ्खुवासभाको खाँदबारी नगरपालिका–३ मानेभञ्याङमा नवौँ अरुण भ्याली रनिङ शिल्ड फुटबल प्रतियोगिता सुरु भएको छ । खाँदबारी–३ स्थित मानेभञ्याङमा आज बुधबार देखि नवौँ अरुण भ्याली रनिङ शिल्ड फुटबल प्रतियोगिता सुरु भएको हो ।

सामाजिक सद्भावका लागि युवा एकता–विकृति, विसङ्गतिका विरुद्ध खेलकुदद्वारा सहकार्यको प्रतिबद्धता भन्ने मूल नाराका साथ नवौँ अरुण भ्याली रनिङ शिल्ड फुटबल प्रतियोगिता आज बुधबार देखि सुरु भएको हो । प्रतियोगिताको उद्घाटन खेलमा खाँदबारी युथ क्लब भर्सज सेकाहा सामुदायिक विकास क्लबबीच प्रतिस्पर्धा भएको छ । सेकाहा सामुदायिक विकास क्लबले दुईका विरुद्ध तीन गोलले पराजित गरेको छ ।

दोस्रो खेलमा सभा पोखरी फुटबल क्लब र तीन पोखरी समाज विकास क्लबबीच प्रतिस्पर्धा भएको छ । सभापोखरी फुटबल क्लबले शून्यका विरुद्ध ५ गोल अन्तरले पराजित गरेको छ । प्रतियोगिताको उद्घाटन गर्दै खाँदबारी नगरपालिका नगरप्रमुख महेश थपलियाले समाजमा भएका विकृति, विसङ्गतिलाई खेलकुदका माध्यममार्फत निर्मूल पार्नुपर्ने बताए ।

प्रतियोगितामा जिल्लाका मोरङको बेलबारी फुटबल क्लब, धनकुटाको चुलाचुली युवा क्लब र सुनसरीको पाथीभरा फुटबल क्लबसहित कोशी प्रदेशका १२ टोलीको सहभागिता रहेको एड्भान्स क्लबका अध्यक्ष जिल्लामान राईले बताए । पूर्वीपहाडी जिल्लाको महत्त्वपूर्ण प्रतियोगिता रहेको र खेल क्षेत्रमा छुट्टै पहिचान बनाउन सङ्खुवासभा जिल्लामा ठूलो खेल महोत्सवका रूपमा लिइएको क्लबका अध्यक्ष राईले बताए ।

विजयी टिमलाई नगद रु दुई लाख ट्रफि, मेडल प्रमाणपत्रले सम्मान गरिने छ भने उपविजेतालाई नगद रु एक लाखसहित ट्रफि, मेडल प्रमाणपत्रले सम्मान गरिने प्रतियोगितामा विभिन्न विधामा नगद र ट्रफीले सम्मान गरिने आयोजकले जनाएको छ ।

त्यस्तैगरी सेमी फाइनालिष्ट दुई टिमलाई नगद रु २५ २५ हजार प्रदान गरिने आयोजक एड्भान्स क्लबले जनाएको छ ।फुटबल प्रतियोगितामा करिब रु २८ लाख खर्च हुने आयोजकले अनुमान गरेको छ । एड्भान्स क्लबले फुटबल खेलको विकास, आधुनिकीकरण र खेलाडीको व्यावसीकरण गर्ने उद्देश्यले विसं २०६४ देखि निरन्तर फुटबल प्रतियोगिता गर्दै आएको छ । नवौँ अरुण भ्याली रनिङ शिल्ड फुटबल प्रतियोगिताखाँदबारी–३ मानेभञ्याङस्थित महेन्द्र माविको खेलमैदानमा कात्तिक १२ सम्म सञ्चालन हुने भएको छ । 

प्रतिक्रिया