पूर्व अमेरिकी राष्ट्रपति ट्रम्पविरुद्ध अर्को फौजदारी मुद्दा दर्ता

निर्वाचनको परिणाम उल्टाउन खोजेको सहित चार अभियोग

अमेरिकी पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्पविरुद्ध २०२० को राष्ट्रपति निर्वाचनको परिणाम उल्टाउने दुष्प्रयास गरेको अभियोगमा वासिङ्गटनस्थित संघीय अदालतमा फौजदारी अभियोगमा मुद्दा दर्ता भएको छ  । अदालतले ट्रम्पलाई  बिहीबार न्यायाधीश समक्ष उपस्थित हुन आदेश दिएको छ । ट्रम्पमाथि राष्ट्रपतीय निर्वाचनमा जो बाइडेनको विजय प्रमाणित गर्ने कार्य गर्नबाट संसदलाई रोक्ने प्रयास गरेर अमेरिकालाई ठग्ने षडयन्त्र गरेको, मतदातालाई स्वच्छ निर्वाचनको अधिकारबाट वञ्चित गर्ने प्रयास गरेको लगायतका चार आरोप लगाइएका छन् । सन् २०२० को निर्वाचनमा जो बाइडेनसँग पराजित भएपछि निर्वाचनमा व्यापक धाँधली भएको भन्ने दाबी गर्दै तत्कालीन उपराष्ट्रपति माइक पेन्स लगायतका अधिकारीमाथि परिणाम उल्टाउन दबाब दिएको उनीमाथि अभियोग छ ।  साथै आफ्ना समर्थकलाई संसद भवनमा आक्रमण गर्न उक्साएर अमेरिकी लोकतन्त्रको अवमूल्यन गर्न खोजेको ट्रम्पविरुद्ध दर्ता गरिएको ४५ पेज लामो अभियोग पत्रमा उल्लेख छ । राष्ट्रपतीय निर्वाचनको परिणाम प्रमाणित गर्न संसदको संयुक्त बैठक बसिरहेका बेला सन् २०२१ को जनवरी ६ मा ट्रम्प समर्थकहरुले संसद भवनमा आक्रमण गरेका थिए । उक्त आक्रमणका क्रममा पाँच जनाको मृत्यु भएको थियो । केही महिनाको अन्तरालमा पूर्वराष्ट्रपति ट्रम्पविरुद्ध फौजदारी अभियोगमा मुद्दा दर्ता भएको यो तेस्रो पटक हो । संसद भवनमाथि भएको घटनाको विशेष अभियोजक ज्याक स्मिथले अनुसन्धान गरिरहेका छन । ट्रम्पविरुद्ध गत मार्चमा व्यावसायिक ठगी सम्बन्धी अभियोगमा फौजदारी मुद्दा दर्ता भएको छ । आगामी वर्ष हुने राष्ट्रपतीय निर्वाचनमा पुनः प्रतिष्पर्धा गर्ने घोषणाका साथ चुनावी अभियान चलाइरहेका ट्रम्पले भने आफूलाई निर्वाचित हुनबाट रोक्ने उद्देश्यका साथ झुठो अभियोग लगाइएको जनाउँदै आएका छन् । ट्रम्प हाल रिपब्लिकन पार्टीको अर्को राष्ट्रपति उम्मेद्वार छनोट गर्नको लागि प्रतिस्पर्धामा छन । 

प्रतिक्रिया