आवश्यक परे सरकारले अध्यादेश ल्याउन सक्छ : प्रधानमन्त्री ओली

काठमाडौं । सत्ता गठबन्धनको बैठकमा राजनीतिक दल सम्बन्धी अध्यादेशको विषयमा चर्चा भएको छ । 

प्रधानमन्त्री केपी शर्मा ओलीले दल विभाजन सहज हुने गरी अध्यादेश ल्याउने तयारी भइरहेको बेलामा आज बालुवाटारमा बसेको बैठकमा यो विषय उठेको हो ।

बैठकमा विषय उठेपछि प्रधानमन्त्री ओलीले आवश्यक परे ल्याउनसक्ने तर, अहिले कुनैपनि तयारी नभएको बताए ।

नेकपा एसका एक तिहाइभन्दा बढी केन्द्रीय सदस्य र आधा जति सांसदले विभाजनमा सहजताका लागि अध्यादेश ल्याइदिन प्रधानमन्त्री र एमालेलाई आग्रह गरिरहेका छन् ।

साना दल फुट्दा एमालेले लाभ लिन सक्ने भन्दै कांग्रेस नेता डा. शेखर कोइरालाले नमानेपछि प्रधानमन्त्री ओलीको यो प्रयास तत्काललाई रोकिएको छ ।

अध्यादेशको विषयमा आजको बैठकमा कुरा उठेपछि त्यस्तो कुनै तयारी नभएको प्रधानमन्त्रीले बैठकमा प्रष्टीकरण दिएको बैठकमा उपस्थित एक नेताले बताए ।

प्रधानमन्त्री ओलीले नेकपा एकीकृत समाजवादीसहित केही साना दलहरूलाई लक्षित गरेर अध्यादेश ल्याउने प्रयासमा छन् । तर, सत्तारुढ दल नेपाली कांग्रेसभित्र सहमति नजुट्दा तत्काललाई रोकिएको छ ।

आजको बैठकमा कांग्रेस सभापति शेरबहादुर देउवा, गृहमन्त्री रमेश लेखक, एमालेका वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेल, महासचिव शंकर पोखरेल, जनता समाजवादी पार्टीका सहअध्यक्ष रेणुकुमारी यादव, जनता समाजवादी पार्टी नेपालका उपाध्यक्ष राजकिशोर यादव, लोकतान्त्रिक समाजवादी पार्टीका अध्यक्ष महन्थ ठाकुर, नागरिक उन्मुक्ति पार्टीका अध्यक्ष रञ्जिता श्रेष्ठ र जनमत पार्टीका अध्यक्ष डा सिके राउतलगायत सहभागी थिए ।

प्रतिक्रिया