भारतीय प्रधानमन्त्री मोदी र चिनियाँ राष्ट्रपति सी जिङपिङ बीच रुसमा भेटवार्ता हुने

एजेन्सी । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी र चिनियाँ राष्ट्रपति सी जिङपिङले बुधबार पाँच वर्षमा पहिलो पटक द्विपक्षीय बैठक गर्ने भारतीय अधिकारीहरूले बताएका छन् ।  

रूसी शहर कजानमा राष्ट्रपति भ्लादिमिर पुटिनले आयोजना गरेको तीन दिने ब्रिक्स बैठकको साइडलाइनमा दुई देश बीच बैठक हुनेछ । “ब्रिक्स शिखर सम्मेलनको साइडलाइनमा प्रधानमन्त्री मोदी र राष्ट्रपति सी बिच द्विपक्षीय बैठक हुनेछ”, भारतीय विदेश मन्त्रालयका वरिष्ठ अधिकारी विक्रम मिस्रीले बताएका छन् । 

सन् २०१९ को अक्टोबरमा सीले भारतीय शहर महाबलीपुरम भ्रमण गर्दा विश्वका दुई सबै भन्दा बढी जनसङ्ख्या भएका देशका नेता बीच अन्तिम पटक आमने सामने औपचारिक वार्ता भएको थियो । 

वार्ताको केही महिना पछि, सन् २०२० मा हिमालय क्षेत्र लद्दाखको विवादित सीमामा दुई देश बीच भएको झडप पछि उनीहरुको सम्बन्ध बिग्रिएको थियो  जसमा कम्तिमा २० जना भारतीय र ४ जना चिनियाँ सैनिक मारिएका थिए । 

चीन र भारतले एक अर्कालाई ’लाइन अफ एक्चुयल कन्ट्रोल’ भनेर चिनिने आफ्नो अनौपचारिक विभाजनको क्षेत्र कब्जा गर्ने प्रयास गरेको आरोप लगाउदै आएको छ । 

मोदी र सीले सन् २०२२ मा इन्डोनेसियाको बालीमा जी–२० नेताहरूको बैठक र सन् २०२३ मा दक्षिण अफ्रिकाको जोहानेसबर्गमा छोटो भेटवार्ता गरेका थिए । । 

तथापि, भारतले आफ्नो सीमामा द्वन्द्वपूर्वको यथास्थिति पुनर्स्थापित नगरे सम्म सम्बन्ध सामान्य हुन नसक्ने बताएको छ । 

रासस 

प्रतिक्रिया