चिसो बढे सँगै काभ्रेको बाढी पहिरो प्रभावितको विचल्ली

काभ्रे । चिसो बढे सँगै काभ्रेको बाढी पहिरो प्रभावितको विचल्ली भएको छ । बाढी पहिरो गएको चार साता बित्न लाग्दा पनि राहत र पुर्नस्थापनाको काम हुन नसक्दा प्रभावितहरु मारमा परेका छन् । 

चिसो बढे सँगै काभ्रेको बेथानचोक ३ स्थित बनेपाली टोलका अधिकांश घरहरू बाढी पहिरोले भत्के पछि अहिले कोही वृद्धाश्रम त कोही नजिकैको आफन्तको घरमा बसेर जीवन गुजारा गरिरहेका छन् ।

एकातिर बस्ने न्यानो ठाउँ नभएको, अर्कोतिर भोक लागेको बेलामा निकालेर खाने अन्नपात नै नभए पछि अधिकांश परिवार बिचल्लीमा परेका छन् । 
 
जनप्रतिनिधिहरुले भने नागरिकको उद्धार र राहत उपलब्ध गराउने देखि सडक, विद्युत, सञ्चारको काम सकाएर अब पुर्नस्थापना र पुर्नबासको काममा केन्द्रित भएको बताएका छन् । जाडो बढ्दै आएकाले ज्येष्ठ नागरिक र बालबालिकाका लागि राज्यले चासो दिनुपर्ने जनप्रतिनिधिहरुको पनि भनाइ छ । 

कतिपय त बस्ने वासस्थान सबै बाढी पहिरोले उठाए पछि अब के गर्ने भन्ने अन्योलमा रहेका छन् । बेथानचोक गाउँपालिकामा बाढी पहिरो बाट ४ हजार ४ सय घरपरिवार प्रभावित भएको छ । जसमध्ये ७ सय घर पूर्ण रूपमा क्षति र ५ सय घरमा आंशिक क्षति भएको छ । 

सयाै‌ रोपन खेती योग्य जमिन बाढी पहिरोले बगाएको छ ।

प्रतिक्रिया