सहकारी पीडितलाई रास्वपाको धम्की: आन्दोलनमा सहभागी हुनुपर्ने माग, पीडितलाई झन् पीडा

काठमाडौं । पोखराका सहकारी पीडितलाई राष्ट्रिय स्वतन्त्र पार्टीका कार्यकर्ताले धम्क्याउन थालेको पीडितहरुले बताएका छन् ।

सुर्यदर्शन बचत तथा ऋण सहकारी संस्थाका पीडितले बुधबार प्रेस विज्ञप्ती जारी गर्दै रास्वपा नेता तथा कार्यकर्ताले पीडितको घरमै पुगेर धम्क्याउने, प्रलोभनमा पार्ने र भड्काउने जस्ता गतिविधी गरेको आरोप लगाएका हुन् ।

आन्दोलनमा पोखरेली नागरिक सहभागी नभएको भन्दै रास्वपाका कार्यकर्ताले घरदैलो गरिरहेका छन् । घरदैलोका क्रममा रास्वपा कार्यकर्ताले पीडितलाई झन् पीडा दिने काम गरेको पीडितहरुको भनाइ छ ।

रास्वपा सभापति एवं पूर्व उपप्रधान तथा गृहमन्त्री रवि लामिछाने सहकारी ठगी एवं संगठित अपराध मुद्धामा अहिले कास्की प्रहरीको हिरासतमा छन् । रास्वपा कार्यकर्ता भने लामिछानेको रिहाइको माग गर्दै दिनहुँ सडक आन्दोलन गरिरहेका छन् ।

अदालती प्रक्रियालाई प्रभावित पार्ने गरी रास्वपा कार्यकर्ताले आन्दोलन नरोकेको भन्दै सहकारी पीडितले विहिबार विशाल प्रदर्शन गर्ने तयारी गरेको छ ।

रवि लामिछानेमाथि भइरहेको अनुसन्धान प्रभावित पार्ने उदेश्यले रास्वपाले प्रदर्शन जारी राखेकाले आफुहरुले खबरदारी सभा गर्न लागेको सहकारी बचत पीडित संघर्ष समितिका संयोजक किरण श्रेष्ठले बताए ।

प्रतिक्रिया