कृषि एम्बुलेन्सले किसानलाई राहत

चितवन । इच्छाकामना गाउँपालिका–२ हपनीका कर्णबहादुर चेपाङलाई आज भोलि आफूले उत्पादन गरेका सागसब्जी बजार सम्म लैजान कुनै समस्या छैन । उत्पादित सागसब्जी बजार सम्म लैजान घरमा नै कृषि एम्बुलेन्स आइपुग्छ ।

इच्छाकामना गाउँपालिकाले हपनी कृषि समूहको साझेदारीमा कृषि एम्बुलेन्स सञ्चालन गरिरहेको छ । सोही कृषि एम्बुलेन्सका कारण किसानलाई उत्पादित कृषि सामग्री बजार सम्म लैजान सहज भएको चेपाङले बताए । उनका अनुसार थोरै मात्रामा सागसब्जी लिन गाडी आउन नमान्ने हुँदा त्यत्तिकै खेर जाने गरेकामा अहिले भने दुई मुठा सागले पनि बजार  पाउने गरेको छ ।

कृषि एम्बुलेन्सले टोलटोलमा पुगेर थोरै थोरै उत्पादन पनि बजार सम्म लैजाने र भाडादर पनि अन्य गाडीको भन्दा सस्तो भएको उनी बताउछन् । कृषि एम्बुलेन्स सञ्चालनमा आएपछि यहाँका किसानलाई राहत मिलेको कृषि एम्बुलेन्स चालक स्थानीय दीपक प्रजाले बताए । उनका उनुसार  किसानको घरटोलमा नै पुगेर सागसब्जी सङ्कलन गरी बजार सम्म लैजाने गरेको बताए । 

गाउँपालिका अध्यक्ष दानबहादुर गुरुङका अनुसार गाउँपालिकाले गत दुई आर्थिक वर्षमा ७५ प्रतिशत अनुदानमा कृषि समूहको साझेदारीमा तीनवटा कृषि एम्बुलेन्स सञ्चालनमा ल्याएको हो । गाउँघरमा उत्पादन भएका ताजा सागसब्जी बजार सम्म पुर्‍याउने काम कृषि एम्बुलेन्सले गरेको छ । वडा नम्बर १ को हात्तीवाङ, २ को हपनी र वडा नम्बर ७ को दाहाखानी क्षेत्र बाट ती कृषि एम्बुलेन्स सञ्चालन भइरहेको छ । वडा नम्बर १ र २ बाट चल्ने कृषि एम्बुलेन्स फिस्लिङ केन्द्रित छन् भने ७ नम्बर बाट चल्ने कृषि एम्बुलेन्स भरतपुर र मुग्लिन बजार केन्द्रित छ । कृषिजन्य उत्पादन बजार पुर्‍याउन मात्र नभई यहाँका स्थानीयले  सस्तो भाडादरमा आवातजावत गर्न पाएका छन् । 

कृषि एम्बुलेन्स सञ्चालन सँगै इच्छाकामना गाउँपालिकाले उत्पादन वृद्धि गर्न किसान लक्षित कार्यक्रम सञ्चालन  गरिरहेको  छ । किसानलाई आवश्यक बीउबिजन, मल अनुदानका साथै तालिम दिने गरिएको छ । गाउँपालिकाले  बाँझो जमिनमा व्यावसायिक खेती गर्ने किसानलाई बीउ, मलमा अनुदान कार्यक्रम सञ्चालन गरेको छ भने बाख्रापालक किसानलाई खोर सुधारका लागि अनुदान पनि दिँदै आएको छ । 
रासस 
 

प्रतिक्रिया