राष्ट्रिय स्वतन्त्र पार्टीले लामिछाने पक्राउको विरोधमा आज पनि विरोध प्रदर्शन जारी राख्ने

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले पार्टी सभापति रवि लामिछाने पक्राउको विरोधमा बुधबार पनि विरोध प्रदर्शन जारी राख्ने भएको छ ।

पार्टीले पोखराको सिर्जना चोकमा बुधबार दिउँसो साढे १२ बजे भेला हुनका लागि आफ्ना कार्यकर्ता र समर्थकहरूलाई आग्रह गरेको छ ।  यसअघि मंगलबार र सोमबार पनि रास्वपाले पोखराकै पृथ्वी चोकमा प्रदर्शन गरेका थिए । 

सहकारी ठगी प्रकरणमा प्रहरीले लामिछानेलाई शुक्रबार पक्राउ गरे देखि नै रास्वपाले विरोध प्रदर्शन जारी राखेको छ । आइतबार जिल्ला अदालत कास्कीमा पेस भएका लामिछानेलाई अदालतले छानबिन गर्न ६ दिनको म्याद थप दिएको छ । लामिछाने सँग कास्की प्रहरीले बयान लिन शुुरु गरेको छ । 

कास्की प्रहरीको हिरासतमा रहेका लामिछानेको मंगलबार बाट बयान लिन शुरु गरिएको छ । बयान तत्कालै नसकिने भएकाले अनुसन्धानका लागि आवश्यक परे म्याद थपका लागि बिहीबार अदालत लैजाने प्रहरीको तयारी छ । 

सूर्यदर्शन सहकारीको एक अर्ब ३५ करोड अपचलन र सङ्गठित अपराधमा अनुन्धान जारी रहँदा रास्वपाले गरेको प्रदर्शनले पोखराको जनजीवन प्रभावित बनेको छ ।

प्रतिक्रिया