काभ्रेका विपद् पीडितलाई स्थानीय तह बाट आर्थिक सहयोग

काभ्रेपलाञ्चोक । जिल्ला विपद् व्यवस्थापन समितिले हालैको बाढी पहिरो बाट घर–आवासमा क्षति व्यहोरेका परिवारलाई आर्थिक सहयोग गर्ने भएको छ । समितिले हाललाई प्रतिपरिवार क्षतिका आधारमा  १५ देखि २० हजार सम्म प्रदान गर्ने निर्णय गरेको छ । 

समितिको मङ्गलबारको बैठकले जिल्ला विपद् व्यवस्थापन कोष बाट उक्त रकम प्रदान गर्ने निर्णय गरेको हो । विपद् बाट घर, आवास नष्ट भएका वा खाद्यान्न बाली तथा जग्गा–जमिन वा पसल–व्यवसाय समेत नोक्सानी भई तत्काल गुजाराको लागि खाद्यान्न नभएका वा दुवै अवस्थामा पीडित परिवारलाई यथाशीघ्र प्रतिपरिवार पाँच जना सम्म सदस्य भएको परिवार भए १५ हजार प्रदान गर्ने निर्णय गरेको हो । 

त्यसैगरी, पाँच जना भन्दा बढी सदस्य भएको परिवारलाई २० हजार प्रदान गर्ने निर्णय भएको प्रमुख जिल्ला अधिकारी उमेशकुमार ढकालले बताए । धुलिखेल र बनेपा नगरपालिकालाई विपद् सङ्कट ग्रस्त घोषणा गर्न गृह मन्त्रालय तथा राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरण समक्ष अनुरोध गर्ने निर्णय भएको छ । यस अघि सरकारले काभ्रेपलाञ्चोकको १३ मध्ये ११ स्थानीय तहलाई विपद् सङ्कट ग्रस्त घोषणा गरिसकेको छ ।
 
जिल्लाका १० हजार घरमा क्षति पुगेको अनुमान छ । जिल्लाको १३ स्थानीय तह मध्ये पाँचखाल नगर, महाभारत र खानीखोला गाउँपालिका बाहेक १० स्थानीय तहमा बाढी पहिरोमा परी ७८ जनाले ज्यान गुमाएका छन् भने ५जना अझै बेपत्ता छन् ।

जिल्ला प्रहरी कार्यालयका अनुसार ७५ जना घाइते भएका र ३३ महिला, २९ पुरुष, नौ बालक र सात बालिकाको मृत्यु भएको छ ।
रासस

प्रतिक्रिया