बागलुङ कालिका मन्दिरमा ४५ लाख भेटी सङ्कलन

बागलुङ । बागलुङ कालिका मन्दिरमा बडा दशैंमा  ४५ लाख भेटी सङ्कलन भएको छ । बागलुङ कालिका भगवती गुठी व्यवस्थापन समितिले असोजमा ४५ लाख २७ हजार भेटी तथा अन्य क्षेत्र बाट आम्दानी भएको जनाएको छ । 
    
बडा दशैं र चैते दशैंमा कालिका मन्दिरमा सबै भन्दा बढी भेटी सङ्कलन हुने गरेको छ । दशैंमा मात्रै वर्ष भरी हुने भेटी मध्ये ६० प्रतिशत सङ्कलन भएको गुठीका अध्यक्ष कुमार खड्काले बताए । 

असोजमा भेटी मार्फत २२ लाख ८० हजार, परेवा बिक्री बाट ११ लाख ३६ हजार २ सय ५०, सटर भाडा ३ लाख ८५ हजार, बोकाको बली शुल्क बाट ४ लाख ४ हजार, चामल बिक्री बाट १६ हजार सङ्कलन भएको छ । साथै कुखुरा बली शुल्क बाट  ३० हजार ८ , राँगा बली बाट  १८ हजार ४ सय, विवाह शुल्क  १० हजार ५ सय, आर्थिक सहयोग १ लाख ४७ हजार ८ सय ७१, पण्डित बाट प्राप्त शुल्क १६ हजार ४ सय र व्रतबन्ध बाट ३ सय आम्दानी भएको समितिका अध्यक्ष खड्काले जानकारी दिए ।     

साथै असोजमा विभिन्न शीर्षकमा १३ लाख ९० हजार खर्च भएको जनाइएको छ । अध्यक्ष खड्काले दिएको जानकारी अनुसार तलब, पूर्वाधार, कर्मचारी सुविधा, पानी, विद्युत लगायत उक्त रकम खर्च भएको छ । 

चाडवाडको समयमा कालिका मन्दिर दर्शन गर्नेको सङ्ख्यामा उल्लेख्य वृद्धि भएको छ । दशैंमा मात्रै ४ लाख दर्शनार्थी मन्दिर दर्शनका लागि आएको गुठीको तथ्याङ्क रहेको छ । गत चैते दशैंमा पनि  ४० लाख भेटी सङ्कलन भएको थियो । 
रासस 

प्रतिक्रिया