वीरगञ्ज बाट पेट्रोलियम पदार्थको आयात २५ प्रतिशतले घट्यो

वीरगञ्ज । मुलुकको निर्माण क्षेत्रको गतिविधि सुस्ताउँदा वीरगञ्ज भन्सार नाका हुँदै हुने पेट्रोलियम पदार्थको आयातमा पनि उच्च गिरावट आएको छ । यहाँ बाट डिजेल तथा पेट्रोलको आयात २५ प्रतिशतले घटेको वीरगञ्ज भन्सार कार्यालयले जनाएको छ । 

मुलुकभर रहेका नाका मध्ये सबै भन्दा धेरै डिजेल तथा पेट्रोल भित्रिने नाकाको रुपमा वीरगञ्ज चिनिन्छ । यहाँ बाट चालु आर्थिक वर्षको तीन महिनाको अवधिमा १२ अर्ब ६६ लाख ८० हजार बराबरको  एक लाख ३५ हजार पाँच  सय १८ किलोलिटर हाइस्पिड डिजेल आयात भएको छ । 

भन्सार कार्यालयका प्रमुख प्रशासक दीपक लामिछानेका अनुसार गत आर्थिक वर्षको तीन महिनाको तुलनामा चालु आर्थिक वर्षको सोही अवधिमा हाइस्पिड डिजेलको आयात २५ दशमलव ३३ प्रतिशतले घटेको छ । डिजेल आयात घटे सँगै राजस्व सङ्कलन पनि २७ दशमलव ४३ प्रतिशतले घटेको छ । 

मोतिहारी–अमलेखगञ्ज पेट्रोलियम पाइप लाइन परियोजना अन्तर्गत हाइस्पिड डिजेल पाइप लाइन बाट आयात हुने गरेको छ भने पेट्रोल ट्याङकर बाट नै ल्याउने गरिन्छ । अमलेखगञ्ज स्थित नेपाल आयल निगम प्रादेशिक कार्यालयका प्रमुख प्रलयङ्कर आचार्यका अनुसार पूर्वाधार तथा विकास निर्माणका गतिविधि कम हुँदा पेट्रोलियम पदार्थको खपत घटेको हो । पूर्वाधार तथा विकास निर्माणका गतिविधि बढ्ने बित्तिकै आयात बढ्ने उनको बुझाइ छ । विद्युतीय सवारीसाधन प्रति सर्वसाधारणको आकर्षण बढे सँगै पेट्रोलियम पदार्थको खपत पनि घटेको छ । 

नेपाल निर्माण व्यवसायी महासङ्घका महासचिव रोशन दाहालले वर्षायाम र सरकारी निकायले निर्माण सम्पन्न भएका आयोजनाको भुक्तानी नदिँदा निर्माण क्षेत्रले अपेक्षाकृत गति लिन नसकेको गुनासो गरे । हाल निर्माण जन्य सामग्री र उपकरणको आयात घटेको छ । मनसुन र चाडपर्व सकिए पछि विकास निर्माणका गतिविधि चलायमान हुने उनको विश्वास छ । 

चालु आर्थिक वर्षको तीन महिनामा पेट्रोल आयात पनि घटेको छ । चालु आर्थिक वर्षको असोज मसान्त सम्ममा ६ अर्ब ५८ करोड ४६ लाख ८३ हजार बराबरको ७४ हजार सात सय १२ किलोलिटर पेट्रोल आयात भएको छ । अघिल्लो आर्थिक वर्षको सोही अवधिमा पेट्रोलको आयात २२ दशमलव ५२ प्रतिशतले घटेको थियो ।   
रासस 

प्रतिक्रिया