बाटो खुलेको २५ वर्ष पछि कालोपत्र

म्याग्दी । बेनी नगरपालिका–६को एक्लेपिपल बाट जम्रेनी क्षेत्रमा बाटो खुलेको २५ वर्ष पछि सडक कालोपत्र भएको छ । 

बेनी नगरपालिकाले बेनी–पात्लेखेत सडक आयोजना मार्फत एक्लेपिपल बाट जम्रेनी क्षेत्रको सडक कालोपत्र र ढलान सहित स्तरोन्नति गरेको हो । बेनी–६ का वडाध्यक्ष कृष्णसिंह बानियाँका अनुसार यहाँ २०५६ सालमा सडकको सडक निर्माण गरिएको हो ।

सडक स्तरोन्नति भए पछि आवतजावत गर्न सहज भएको छ । यो सडक निर्माणका लागि गत आर्थिक वर्ष २०८०/८१ मा १ करोड ३४ लाख ६६ हजार ९ सय २९ मा निर्माण कम्पनी सँग सम्झौता भएको थियो । सात सय मिटर प्रिमिक्स प्रविधिको कालोपत्र, १ सय २५ मिटर ढलान, ७ सय मिटर पानीका निकासका लागि नाली र ६ सय मिटर पर्खाल निर्माण भएको छ । 

यो सडकले बेनी नगरपालिका–६, ९, १० हुँदै रघुगङ्गा गाउँपालिका–५, ६ र ८ नम्बर वडालाई जिल्ला सदरमुकाम सँग जोडेको छ । साथै, गण्डकी प्रदेश सरकारको बजेटमा पूर्वाधार विकास कार्यालयले  १० करोड १६ लाख १ हजार ३ सय ६४ को लागतमा बेनी–पाखापानी सडकको भुतेदैला–नेप्टेचौर–तोरीपान खण्डमा चार किलोमिटर सडक स्तरोन्नति गर्ने आयोजना सञ्चालन गरेको छ ।

नगरपालिकाले चालु आर्थिक वर्षमा ३ तीन करोड बजेट विनियोजन गरेको बेनी–पात्लेखेत सडकको तोरीपानी बाट पात्लेखेत तर्फ स्तरोन्नतिको तयारी गरेको नगरप्रमुख सुरत केसीले बताए । 
रासस

प्रतिक्रिया