अन्तर्राष्ट्रिय मुद्दाको समाधान, सहकार्य र साझेदारी गर्न आइपियुको भूमिका महत्वपूर्णस् राष्ट्रियसभा अध्यक्ष दाहाल

काठमाडौ ।  राष्ट्रियसभा अध्यक्ष नारायणप्रसाद दाहालले नेपालको परराष्ट्र नीति, संवैधानिक व्यवस्था तथा शान्ति प्रक्रियाका बारेमा विश्व समुदायलाई जानकारी दिन आफ्नो स्वीट्जरल्याण्ड भ्रमण सफल भएको बताएका छन् ।

अन्तर–व्यवस्थापिका सङ्घ (आइपियु)को एक सय ४९औँ महासभामा सहभागी भई स्वदेश फर्केपछि मंगलबार सिंहदरबारमा आयोजित पत्रकार सम्मेलनमा अध्यक्ष दाहालले लोकतन्त्रको सुदृढीकरण र अन्तर्राष्ट्रिय मुद्दाको समाधान खोज्नका लागि सहकार्य र साझेदारी गर्न आइपियुको महत्वपूर्ण भूमिका रहने बताए।

औपचारिक सम्बोधनका साथै विभिन्न बैठकमा आइपीयूका अध्यक्ष र महासचिव, स्वीट्जरल्याण्डको सङ्घीयसभा नेसनल काउन्सिलका अध्यक्ष तथा अन्य राष्ट्रका समकक्षीसँगका भेटघाट विश्वसमुदायमा नेपालको सम्बन्ध विस्तार र उपस्थितिका लागि महत्वपूर्ण रहेको अध्यक्ष दाहालको भनाइ थियो ।

महासभाका क्रममा एसिया–प्यासिफिक समूहको बैठक र दिगो विकाससम्बन्धी छलफलमा सांसद कृष्णप्रसाद पौडेल र तारामान स्वार तथा महिला तथा युवा सांसदको फोरममा सुनिता बराल र निशा डाँगी सहभागी भई आफ्ना विषयवस्तु राखेका अध्यक्ष दाहालले जानकारी दिए ।

महासचिवहरूको फोरममा महासचिव पद्मप्रसाद पाण्डेले संसद् र नागरिकको सहभागिता, संसद्मा समाचार र नवप्रवर्तन, संसदीय समितिबीच प्रतिस्पर्धात्मक व्यवस्थापन लगायत छलफलमा सहभागिता जनाएका थिए । एक सय ८१ राष्ट्र सदस्य रहेको आइपियुको महासभामा एक सय ३० भन्दाबढी राष्ट्रका करिब एक हजार पाँच सय प्रतिनिधि र कतिपय देशका पर्यवेक्षकको सहभागिता रहेको थियो ।

प्रतिक्रिया