इजरायली बैज्ञानिकको हत्या गर्न  इरानले योजना बनाएको आशङ्का

एजेन्सी । इजरायली बैज्ञानिकको हत्या गर्ने योजना बनाएको आशंकामा इजरायलको प्रहरीले ७ जनालाई पक्राउ गरेको छ । 

इजरायली संचार माध्यमका अनुसार इरानले इजरायली नागरिकको हत्या गर्ने योजनाका लागि ७ जनालाई प्रशिक्षण दिएको थियो । उनीहरु पक्राउ परेपछि यो इरानको योजना असफल भएको इजरायली संचार माध्यमको भनाई छ । इरानको योजनामा  एक इजरायली आणविक वैज्ञानिक र मध्य इजरायलमा एक मेयरको हत्या पनि समावेश छ। पक्राउ परेका सबै १९ देखि २३ वर्ष उमेर समूहका रहेको इजरायली प्रहरीले जनाएको छ । ७ जनाको समूह नेतामा  २३ वर्षीय रामी अलियान रहेका छन् । जसलाई एक इरानी एजेन्टले हत्या र आक्रमण योजनाका लागि भर्ती गरेको थियो । 

यसका साथै ती युवाहरुलाई यस अघि बिभिन्न कामहरु पनि दिइएको थियो । जसमा प्यालेस्टाइनको गाजामा बन्धकहरूको रिहाईको माग गर्दै भित्तेचित्रहरू बनाउन र इजरायलको जेरुसेलेममा तोडफोड, र विभिन्न स्थानहरूको फोटो खिच्ने काम पनि दिइएको थियो। एक पटक उनीहरूलाई इजरायली सुरक्षा अधिकारीमाथि ग्रेनेड प्रहार गर्न भनिएको थियो, तर त्यो सफल नभएको टाइम्स अफ इजरायलले जनाएको छ ।  

अलियानलाई आणविक वैज्ञानिकको फोटो र ठेगाना दिइएको थियो र यदि उनी बैज्ञानिकको हत्या गर्न सफल भए उनलाई ५३ हजार अमेरिकी डलर दिइने बाचा इरानले गरेको थियो । इजरायली अधिकारीहरूका अनुसार उनले उक्त कार्यको तयारी सुरु गरेका थिए, तर अलियानलाई त्यो काम सफल हुनु अघि नै पक्राउ गरिएको छ । 

सन् २०२३ अक्टोबर ७ मा प्यालेस्टिनी लडाकू समूह हमासले इजरायलमाथि एक्कासी आक्रमण गरेर १२ सय इजरायली नागरिकको हत्या गरेको थियो साथै २ सय ५० जनालाई अपहरण गरेको थियो ।

त्यसयता हमास र इजरायलबीचको युद्ध जारी छ । हमासलाई लेवनानमा रहेको अर्काे मुस्लिम लडाकू समूह हिजबुल्लाहले पनि सहयोग गरिरहेको छ । त्यसकारण इजरायलले हिजबुललाहलाई पनि लक्षित गरेर लेवनानमा आक्रमण गरिरहेको छ ।  उता हिजबुल्लाहलाई इरानले हात हतियार र आर्थिक सहयोग गर्ने गरेको बताउने गरिएको छ । त्यसकारण इरानले आफैं र अन्य मुस्लिम लडाकू समूहको प्रयोग गरेर इजरायलमा रकेट र ड्रोन हमला गर्ने गरेको छ । 

हमासद्वारा संचालित स्वास्थ्य मन्त्रालयका अनुसार युद्ध शुरु भएयता ४३ हजार प्यालेष्टिनी नागरिकको मृत्यु भएको छ । इजरायलले भने यसको जिम्मेवार स्वयं हमास नै भएको बताउँदै आएको छ । हमासले अपहरण गरेका आफ्ना नागरिकहरु रिहाइ गर्नुपर्ने अडान पनि इजरायलको  छ । यद्यपि अपहरणमा परेका कतिपयलाई हमासले हत्या गरिसकेको र केहीको मृत्यु भएको बताइएको छ । जीवित रहेकालाई तत्काल रिहाइ गर्नु पर्ने माग इजरायलको रहेको छ ।   

प्रतिक्रिया