सभामुखसँग समिति सभापतिहरूको गुनासो: बैठकमा सांसद नि आउँदैनन्, चिया खुवाउने समेत पैसा छैन

काठमाडौ। प्रतिनिधि सभा अन्तर्गतका संसदीय समितिका सभापतिहरूले चिया खुवाउने खर्चसमेत अपुग भएको भन्दै सभामुख देवराज घिमिरे समक्ष बैठक राख्न नसकिएको गुनासो गरेका छन् ।  
सभामुख घिमिरेले मंगलबार  सिंहदरबारस्थित कार्यकक्षमा राखेको छलफलमा समितिका सभापतिहरूले समिति बैठक राख्नका लागि सांसदहरूको उपस्थिति गराउन समस्या रहेको, बैठकमा चिया खाजा खुवाउन समेत समस्या रहेको गुनासो गरेका हुन् ।
सभामुख घिमिरेले समिति सभापतिहरूलाई संघीयता कार्यान्वयनका लागि महत्त्वपूर्ण विधेयकहरूसमेत समितिमा अड्किएको भन्दै असन्तुष्टि व्यक्त गरेका थिए। 
सभामुखले समितिको प्रभावकारितामा प्रश्न उठाएपछि समिति सभापतिहरूले बैठकमा सांसदहरू नआउने गुनासो गरेका थिए। 

‘बैठकमा कोरम पुर्‍याउन कठिन छ। चिया-खाजा खुवाउने पैसा छैन,’ उद्योग समितिका सभापति अब्दुल खानले भने, ‘अनि समिति कसरी प्रभावकारी हुन्छ ?’

शिक्षा समितिका सभापति अम्मरबहादुर थापा र अर्थ समितिका सभापति सन्तोष चालिसले सांसदहरू समिति बैठकमा अनुपस्थित भएको उल्लेख गर्दै ‘एक दिन संसद र अर्को दिन समितिको बैठक’ राख्ने गरी क्यालेण्डर बनाउन प्रस्ताव गरेका थिए। 
 तर सभामुख घिमिरेले उक्त प्रस्ताव अस्वीकार गरेका थिए।  ‘सांसदहरूले दुर्गममा जान सकिएन भनेका कारण हप्तामा तीन दिन लगाातार बैठक गरेर चार दिन समय सांसदहरूलाई दिइएको हो,’ घिमिरेले भने, ‘यो विकल्पमा जान सकिएन।’

सभापतिहरूले गुनासो गरेपछि संघीय संसदका महासचिव पद्मप्रसाद पाण्डेयले अबदेखि खाना खुवाउन पुग्ने बजेट व्यवस्था गर्ने बताए। उनले बैठक खर्च साढे ७ हजार पुर्‍याउने गरि बजेट आएको बताए। 

प्रतिक्रिया