उत्तरी गाजा : जहाँ जताततै शवको गन्ध ,मानिसहरु प्रत्येक सेकेण्ड मृत्युको डरमा बाँचिरहेका छन्

एजेन्सी । संयुक्त राष्ट्र संघका सहायता कर्मचारीले प्यालेष्टाइनको उत्तरी गाजामा जताततै मानिसको मृत्युको गन्ध रहेको बताएका छन् । 

इजरायली बमबारीका कारण भग्नावशेषमा जताततै  मानिसको शवको गन्ध आइरहेको राष्ट्रसंघका सहायता कर्मचारीले बताएका हुन् ।

अमेरिकी समाचार नेटवर्क सीएनएनका अनुसार उत्तरी गाजामा  “खाना, पानी र  चिकित्सा सेवाको कुनै प्रबन्ध छैन् । त्यहाँ इजरायलले मुस्लिम लडाकू समूह हमासका कार्यकर्तालाई लक्षित गरेर बमबारी गरिरहेको छ ।  

प्यालेस्टिनी शरणार्थीहरूका लागि संयुक्त राष्ट्र संघका प्रमुख फिलिप लाजारिनीको उत्तरी गाजामा  डरलाग्दो अवस्था रहेको बताएका छन् ।   जहाँ लाखौं मानिसहरू इजरायलको नयाँ सैन्य आक्रमणको बीचमा डरलाग्दो मानवीय अवस्थाको सामना गरिरहेका छन्।

“सडकमा वा भग्नावशेषमुनि शवहरू पर्दा जताततै मृत्युको गन्ध छ। शव हटाउन वा मानवीय सहायता प्रदान गर्नेहरु त्यहाँ जान सकेका छैनन् । उनले भनेका छन् – “उत्तरी गाजामा, मानिसहरू मर्नको लागि मात्र पर्खिरहेका छन्। उनीहरूले उजाड, निराश र एक्लो महसुस गरेका छन्। तिनीहरू प्रत्येक सेकेन्डमा मृत्युको डरले एक घण्टादेखि अर्को घण्टासम्म बाँच्छन्। इजरायलले हमासका लडाकू लुकेर बसेका स्थानमा आफ्नो कारवाही केन्द्रित भएकाले  सो क्षेत्रमा भएका प्यालेष्टिनी नागरिकहरुलाई अन्तै सुरक्षित स्थानमा जान भन्दै आएको छ ।  

सन् २०२३ अक्टोबर ७ मा प्यालेस्टिनी लडाकू समूह हमासले इजरायलमाथि एक्कासी आक्रमण गरेर १२ सय इजरायली नागरिकको हत्या गरेको थियो साथै २ सय ५० जनालाई अपहरण गरेको थियो ।

त्यसयता हमास र इजरायलबीचको युद्ध जारी छ । हमासलाई लेवनानमा रहेको अर्काे मुस्लिम लडाकू समूह हिजबुल्लाहले पनि सहयोग गरिरहेको छ । त्यसकारण इजरायलले हिजबुललाहलाई पनि लक्षित गरेर लेवनानमा आक्रमण गरिरहेको हो ।  उता हिजबुल्लाहलाई इरानले हात हतियार र आर्थिक सहयोग गर्ने गरेको बताउने गरिएको छ ।

हमासद्वारा संचालित स्वास्थ्य मन्त्रालयका अनुसार युद्ध शुरु भएयता ४३ हजार प्यालेष्टिनी नागरिकको मृत्यु भएको छ । इजरायलले भने यसको जिम्मेवार स्वयं हमास नै भएको बताउँदै आएको छ । हमासले अपहरण गरेका आफ्ना नागरिकहरु रिहाइ गर्नुपर्ने अडान पनि इजरायलको  छ । यद्यपि अपहरणमा परेका कतिपयलाई हमासले हत्या गरिसकेको र केहीको मृत्यु भएको बताइएको छ । 


 

प्रतिक्रिया