माधव नेपालको ब्रिफिङ - पार्टी फुट्ने हल्लामा सत्यता छैन

काठमाडौं । नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले पार्टी फुट्ने हल्ला नियोजित रूपमा चलाइएको बताएका छन् । 

पार्टी कार्यालय आलोकनगरमा मंगलबार बसेको बागमती प्रदेश कमिटीको बैठकलाई सम्बोधन गर्दै अध्यक्ष नेपालले समसामयिक राजनीति र पार्टीको अवस्थाबारे ब्रिफिङ गर्दै यस्तो हल्लाका पछि नलाग्न नेता कार्यकर्तालाई निर्देशन दिएका हुन् ।

‘हाम्रो पार्टी फुट्दै छ भनेर हल्ला चलाइएको मैले पनि सुनिरहेको छु । यो हल्ला नियोजित रूपमा कसैले चलाएको हो । यसमा कुनै सत्यता नभएकाले यसका पछि नलाग्न आग्रह गर्न चाहन्छु’, अध्यक्ष नेपालको भनाइ उद्धृत गर्दै सो पार्टीको प्रचार विभागले भनेको छ । 

बैठकमा वरिष्ठ उपाध्यक्ष राजेन्द्र पाण्डे, नेताहरू डा बेदुराम भुसाल, प्रमेश हमाल लगायत सहभागी छन् । यसैगरी बागमती प्रदेश इन्चार्ज गंगालाल तुलाधर र प्रदेश अध्यक्ष सरिता भुसाललगायत प्रदेश कमिटीका सदस्यहरू पनि उपस्थित छन् ।
 

प्रतिक्रिया