हाइटी गिरोहको आक्रमणमा २ जनाको मृत्यु, ५ हजार विस्थापित

एजेन्सी । हाइटीका गिरोहहरूले राजधानी पोर्ट –आउ–प्रिन्समा आक्रमण गर्दा आठ महिनाको गर्भवती महिला सहित २ महिलाको मृत्यु हुनुका साथै ५ हजार मानिस विस्थापित भएको नागरिक सुरक्षा विभागले जनाएको छ । 

लामो समय देखि गिरोह हिंसा बाट ग्रस्त रहेको हाइटीमा हालैका महिनामा हिंसा तीव्र हुँदै गइरहेको छ जसले देशको मानवीय, सुरक्षा र राजनीतिक सङ्कटलाई अझ बढाएको छ । 

एएफपीलाई प्रदान गरिएको आंशिक जानकारी अनुसार दक्षिणी सोलिनो जिल्लामा “भिभ अन्सानम“ (लिभिङ टुगेदर) गठबन्धन भित्रका गिरोहले गरेको आक्रमणमा ती २ महिलाको मृत्यु भएको हो । 

“उनीहरूलाई उनीहरूको घरभित्रै मारिएको थियो”, नागरिक सुरक्षा प्रतिवेदनले जनाएको छ । प्रतिवेदनमा जलेका घर र सवारीसाधनको पनि वर्णन गरिएको छ । 

यस महिनाको शुरु देखि नै पोर्ट–आउ–प्रिन्सका धेरै जिल्लालाई गिरोहहरूले लक्षित गर्दै आएका छन्, र सोमबार दिउँसो सोलिनोमा आक्रमण भएको हो ।  गिरोहले ल ‘एस्टेरमा रहेको विद्यालयमा पनि आक्रमण गरेका छन् । उक्त आक्रमणमा एक अभिभावकको हत्या हुनुका साथै विद्यालयका थुप्रै बालबालिका घाइते भएका छन् । 

अक्टोबरको शुरुमा पोन्ट–सोन्डे शहरमा भएको गिरोहको आक्रमणमा कम्तीमा एक सय ९ जनाको मृत्यु भएको थियो भने ४० जना भन्दा बढी घाइते भएका थिए । हाइटीमा शक्तिशाली गिरोहहरूले पोर्ट–अ–प्रिन्स र देशका मुख्य सडकहरूको ८० प्रतिशत नियन्त्रण लिएका छन् ।  

मानव अधिकारका लागि संयुक्त राष्ट्रसङ्घीय उच्चायुक्तले सेप्टेम्बरको अन्त्यमा उद्धृत गरेको तथ्याङ्क अनुसार जनवरी देखि हाइटीमा भएको गिरोह हिंसाका कारण कम्तीमा तीन हजार ६६१ जनाको मृत्यु भएको छ । 

आप्रवासनका लागि अन्तर्राष्ट्रिय सङ्गठन(आइओएम) का अनुसार हिंसाले निम्त्याएको मानवीय भयका कारण ७ लाख भन्दा बढी मानिसहरूलाई आफ्नो घर छोड्न बाध्य भएका छन्  ।  

रासस 

प्रतिक्रिया