सुनकोशी नदीको बेलिबिज्र आज देखि सञ्चालन

काठमाडौं । सुनकोशी नदीको बाढीले बगाएको सिन्धुलीको गोलन्जोर गाउँपालिका वडा नम्बर सात खुर्कोट र रामेछापको मन्थली नगरपालिका –६ सेलेघाट जोड्ने सुनकोशी  नदीमा निर्माण गरिएको बेलिब्रिज मंगलबार बाट सञ्चालनमा आएको छ । 

खुर्कोट–मन्थली सडक अन्तर्गत सो पुलको रामेछाप जिल्ला तर्फको आधा भाग असोज १२ गते सुनकोशी  नदीमा आएको बाढीले बगाए पछि नेपाली सेनाको प्राविधिक टोलीले त्यहाँ असोज २० गते देखि बेलिब्रिज निर्माण जडान शुरु गरेको थियो ।  

पुलको सोमबार भारवहन क्षमता जाँच गरी मंगलबार बाट सञ्चालन गरिएको हो । सडक डिभिजन कार्यालय खाल्टे सिन्धुलीका अनुसार प्राविधिक स्टिमेट अनुसार उक्त पुलको भारबहन क्षमता २२ टन भए पनि हाल १५ टन क्षमताको सवारी साधन मात्र आवतजावत गर्न पाउने छन् । 

कार्यालय प्रमुख पारसमणि हमालका अनुसार सोमबार मात्र उक्त पुलको भारबहन क्षमता जाँच गरेपछि मंगलबार बाट सार्वजनिक यातायात सञ्चालन गर्न छोडेको हो । भौतिक पूर्वाधार तथा यातायात मन्त्री देवेन्द्र दाहाल र उर्जा जलस्रोत तथा सिँचाइ राज्य मन्त्री  पूर्णबहादुर तामाङ्ले पुल उदघाटन गरेका हुन । एसियाली विकास बैंकको १७ करोड रुपैयाँ भन्दा बढी सहयोगमा रोड कनेक्टिभिटी सेक्टर आयोजनाले सुनकोशी  नदीमा दुई वटा स्पानको सो पुल आर्थिक वर्ष २०७१–७२ मा निर्माण गरेको थियो ।

रामेछाप, दोलखा, सोलुखुम्बु र ओखलढुङ्गाका केही भागलाई तराई सँग जोड्न बि.पी. राजमार्ग र मध्यपहाडी राजमार्गका लागि खुर्कोटस्थित सुनकोशी नदीको पुल वरदान सावित भएको स्थानीयले बताएका छन् । पुल निर्माण सँगै रामेछाप र दोलखा जिल्लाको खुर्कोट स्थित बि.पी. राजमार्ग सँगको सम्पर्क जोडिएको छ ।

प्रतिक्रिया