यो वर्षको मनसुनमा औसतभन्दा कम वर्षा

यो वर्षको मनसुनमा औसतभन्दा कम वर्षा भएको छ । मनसुनको जारी सिजनमा देशभरका बिस वटा वर्षा मापन केन्द्रमा गरिएको मापनअनुसार यो वर्ष औसतभन्दा कम वर्षा भएको पाइएको हो । यस वर्षको मनसुन अवधिमा साउन १५ गतेसम्म मापन गरिएको दैनिक सञ्चित वर्षा औसतभन्दा कम रहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ । मनसुन अवधिमा सरदरमा १ हजार ४ सय ७२ मिलिमिटर वर्षा हुन्छ । तर, यो वर्ष साउन १५ गतेसम्म ६ सय ५५ दशमलब पाँच मिलिमिटर वर्षा मात्रै भएको छ । यो वर्षा मनसुन सिजनको चार महिनाको सरदर वर्षाको ४४ दशमलब पाँच प्रतिशत मात्रै हो । नेपालगञ्ज, जनकपुर, धनकुटालगायतका भू–भागमा यस अवधीमा सरदर वर्षाको ५० प्रतिशतभन्दा कम वर्षा भएको छ । तराईका अधिकांश जिल्लामा मध्यमदेखि अधिक खडेरीको अवस्था रहेको विभागको भनाइ छ । 

प्रतिक्रिया