कांग्रेस अर्घाखाँचीको सयदिने अभियान सुरु, नेता कार्यकर्ता एक ढिक्का बनाउने

अर्घाखाँची । नेपाली कांग्रेस अर्घाखाँचीले सोमबारदेखि पार्टी सङ्गठन सुदृढीकरणको सयदिने अभियान सुरु गरेको छ ।

अभियान सञ्चालनका लागि कांग्रेस केन्द्रीय समितिले केन्द्रीय सदस्य एवं प्रतिनिधिसभा सदस्य सञ्जय गौतमलाई खटाएको छ । 

अर्घाखाँची खटिएका केन्द्रीय सदस्य गौतमले चुनावमा पराजित भएर छिन्नभिन्न भएका कांग्रेसका नेता तथा कार्यकर्तालाई अभियानले एक ढिक्का बनाउने बताए ।

अभियानका लागि अर्घाखाँची कांग्रेसले पूर्वसभापति, महासमिति सदस्य, महाधिवेशन प्रतिनिधि, जिल्लाका पदाधिकारीलाई छ स्थानीय तहका ६१ वटा वडामा खटाएको नेपाली कांग्रेसका जिल्ला सचिव कृष्णप्रसाद खनालले जानकारी दिए ।

सयदिने अभियानका क्रममा पार्टी कार्यालय व्यवस्थित गर्ने, मासिक रुपमा सबै तहका बैठक र वडा तहसम्म यथाशीघ्र सम्मेलन गर्ने, वार्षिक कार्ययोजना बनाउने, सङ्गठन विस्तारका लागि सामाजिक र राजनीतिक गतिविधि बढाउने, सदस्यता घरआँगन कार्यक्रमलाई प्रभावकारी बनाइने कांग्रेसका अर्का जिल्ला सचिव अच्युत गौतमले बताएका छन् ।

भ्रातृ र शुभेच्छुक सङ्गठनमा रिक्त पदपूर्ति गर्ने, पार्टीमा योगदान दिने ज्येष्ठ सदस्यको सम्मान, द्वन्द्वपीडित, घाइते र सहिद परिवारको सम्मान गरिने नेपाली कांग्रेसका जिल्ला सभापति केशव श्रेष्ठले बताए । अभियान आउँदो पुस १६ गते बिपी जयन्तीका दिन समापन हुनेछ ।
 

प्रतिक्रिया