कात्तिक ८ गते देखि गोदावरी पुष्प मेला तथा प्रदर्शनी

काठमाडौं । यस वर्षको गोदावरी फूलको प्रतियोगितात्मक प्रदर्शनी कात्तिक ८ देखि ११ गते सम्म हुने भएको छ । 

मेला ललितपुरको जावलाखेलको खेल मैदानमा आयोजना हुँदै छ । तिहार र छठ पर्वलाई लक्षित गरी गोदावरी पुष्प मेला तथा प्रदर्शनी गर्न लागिएको संघले जानकारी दिएको छ । 

प्रदर्शनीमा स्टल राख्न चाहनेका लागि संघले कात्तिक ७ गते सम्म बुकिङ खुला गरेको छ । संघमा आबद्ध सदस्यका लागि प्रतिस्टल शुल्क २० हजार र गैरसदस्यका लागि प्रतिस्टल शुल्क ३० हजार कायम गरिएको छ । 

प्रदर्शनी ४० हजार भन्दा धेरैले प्रत्यक्ष अवलोकन गर्ने र एक करोड रुपैयाँ भन्दा बढीको कारोबार हुने अनुमान गरिएको छ । यस वर्षको तिहारमा भाइटीकाको दिन सम्म करीब ४५ लाख ओटा फूलमाला खरीद विक्री हुने अनुमान छ ।

त्यसबाट करीब ३७ करोड रुपैयाँको कारोबार हुनेछ । तिहारमा खपत हुने फूलमालाको करीब ६० प्रतिशत काठमाडौं उपत्यका र बाँकी खपत उपत्यका बाहिर हुने अपेक्षा छ । कोरोना महामारी पछि पुष्प व्यवसायले गति लिन थालेको छ । 

गत आर्थिक वर्ष २०८०/८१ मा यो व्यवसाय अघिल्लो आर्थिक वर्ष २०७९/८० को तुलनामा २० प्रतिशतले बढेको छ । आर्थिक वर्ष २०७९/८० मा कुल ३ अर्ब ७ करोड रुपैयाँ बराबरको कारोबार भएकोमा आर्थिक वर्ष  २०८०/८१ मा बढेर ३ अर्ब ६८ करोड रुपैयाँ पुगेको संघको तथ्यांक छ ।

प्रतिक्रिया