रास्वपाका कार्यकर्ताले आफ्नै पार्टीका नेतामाथि गरे निर्घात कुटपिट

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका कार्यकर्ताले आइतबार पोखरामा प्रदर्शन गर्ने क्रममा घुसपैठको आरोपमा आफ्नै पार्टीका नेतालाई कुटपिट गरेको विषय सतहमा आएको छ ।

रवि लामिछानेको पक्षमा भएको प्रदर्शनमा घुसपैठ गरेर परिस्थितिलाई उत्तेजक बनाएको आरोपमा कुटपिट गरी रक्ताम्य भएका व्यक्ति रास्वपाका मादी गाउँपालिका संयोजक पदमराज पौडेल रहेको खुल्नमा आएको छ ।

पौडेलले नचिनेका कार्यकर्ताहरूको कुटाइबाट आफू घाइते भएको बताएका छन् । आफ्नै पार्टीका कार्यकर्ताले मुक्का प्रहार गरेपछि मुख फुटेको र २ टाँका लगाइएको पौडेलले बताए । उनी अहिले घरमै आराम गरिरहेका छन् ।

उनलाई कांग्रेस एमालेको घुसपैठ भन्दै रास्वपा सांसद हरि ढकालकै सामुन्ने निर्घात कुटपिट गरिएको थियो । प्रहरीले जोगाएर लैजान खोज्दा पनि रास्वपा कार्यकर्ताले उनलाई लखेटी लखेटी कुटपिट गरेका थिए ।

प्रहरीमाथि पानीको बोतल प्रहार गरेपछि उनी घुसपैठ भएको आशंकामा नियन्त्रणमा लिइएको र त्यसक्रममा केही व्यक्तिले कुटपिट गरेको रास्वपा नेताहरू बताउँछन् ।

यसैबीच घुसपैठीयाको नाममा कुटिएका पौडेललाई स्वर्णिम वाग्ले लगायतका नेताहरूले भेट गरेका छन् । 

आफ्नै कार्यकर्ताको कुटाइबाट घाइते भएका पौडेललाई रास्वपा सांसद डा.तोसिमा कार्कीले घरमै पुगेर स्वास्थ्य जाँच गरेकी छन् । पौडेलले आफू बेड रेष्टमा रहेको भन्दै पार्टीको आन्दोलनलाई समर्थन रहेको बताए ।

प्रतिक्रिया