अभियन्ता चौधरीलाई ‘ग्लोबल एन्टी रेसिजम च्याम्पेनसिप अवार्ड’

अमेरिका । नेपालकी सामाजिक अभियन्ता उर्मिला चौधरीे ग्लोबल एन्टी रेसिजम च्याम्पेनसिप अवार्ड द्वारा सम्मानित भएकी छन् । 

अमेरिकी विदेश मन्त्री एन्टोनी व्लिङ्केनले चौधरी सहित छ देशका सामाजिक अभियन्तालाई सोमबार  आयोजित कार्यक्रममा उक्त अवार्ड प्रदान गरेका थिए । 

स्टेट डिापर्टमेन्टले सार्वजिनक गरेको विवरणमा चौधरी छ वर्षको उमेरमा कमलरीको रूपमा मालिकको घरमा पुगेकी थिइन् । उहाँलाई १७ वर्षको उमेरमा उद्धार गरेर पठनपाठनमा सहभागी गराइएको थियो । अहिले कानून पढेर आवाजविहीनहरूको आवाज बनेर अभियानमा लाग्ने प्रण गर्दै आएकी चौधरीले महिला सशक्तीकरणका लागि विभिन्न ३० वटा सहकारी समूह मार्फत काम गर्दै आएकी छन् । 

चौधरीलाई उक्त अवार्ड नेपालका पिछडिएका अल्पसङ्ख्यक समुदायको लागि विभेद र  शोषणको लागि काम गर्दै आएकी सशक्त अभियन्ता तथा मानव अधिकारको रक्षाका लागि अतिरिक्त साहस, नेतृत्वदायी भूमिका, मजबुत र प्रतिबद्धताका लागि प्रदान गरिएको स्टेट डिपार्टमेन्टले उल्लेख गरेको छ ।

स्टेट डिपार्टमेन्टमा आयोजित कार्यक्रममा अमेरिकाका लागि नेपालका कार्यवाहक राजदूत कुमारराज खरेल पनि सहभागी थिए । अमेरिकाको विदेश मन्त्रालयले गत वर्ष देखि प्रदान गर्दै आएको उक्त अवार्ड प्राप्त गर्ने चौधरी दोस्रो नेपाली हुन्। गत वर्ष सोही अवार्ड नेपालकी सरस्वती नेपालीले प्राप्त गरेकी थिइन् । 
रासस
 

प्रतिक्रिया