सभामुख घिमिरेले आज दलका प्रमुख सचेतकहरु सँग छलफल गर्दै

काठमाडौं । सभामुख देवराज घिमिरेले राजनीतिक दलका प्रमुख सचेतक र दफावार छलफलका लागि विधेयक रहेका संसदीय समितिका सभापतिहरू सँग छलफल गर्ने भएका छन् ।

छलफल मंगलबार बिहान साढे ११ बजे सभामुखको कार्यालयमा हुने बताइएको छ । संसदको आगामी अधिवेशनमा बिजनेसको अभाव हुन नदिने उद्देश्यले सभामुखले समितिका सभापतिहरू र प्रमुख दलका प्रमुख सचेतकहरूलाई छलफलमा बोलाएको सभामुखको सचिवालयले जनाएको छ । 

सभामुख घिमिरेले विधेयकहरू दफावार छलफलमा रहेका राज्य व्यवस्था तथा सुशासन समिति, पूर्वाधार विकास समिति, शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समिति, उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित समिति, कानून, न्याय तथा मानव अधिकार समिति र अर्थ समितिका सभापतिहरूलाई छलफलमा बोलाएका छन् ।

यस्तै, नेकपा एमालेका मुख्य सचेतक महेश कुमार बर्तौला, काँग्रेस प्रमुख सचेतक श्यामकुमार घिमिरे, माओवादी केन्द्रका प्रमुख सचेतक हितराज पाण्डे, राष्ट्रिय स्वतन्त्र पार्टीका प्रमुख सचेतक सन्तोष परियार र राष्ट्रिय प्रजातन्त्र पार्टीका प्रमुख सचेतक ज्ञानबहादुर शाहीलाई पनि सभामुखले बोलाएका छन् ।


 

प्रतिक्रिया