गोर्खा मिडिया नेटवर्कका सञ्चालक जोशीको आज रूपन्देहीमा बयान लिइँदै

सुप्रिम सहकारीको १४ करोड हिनामिनाको आरोप

काठमाडौं । बुटवल स्थित सुप्रिम सहकारीको निक्षेप अपचलन बारे गोर्खा मिडिया नेटवर्कका तत्कालीन सञ्चालक छविलाल जोशीको मंगलबार रूपन्देहीमा बयान लिइँदै छ । 

पूर्व डीआइजी समेत रहेका जोशीलाई पोखरा बाट हवाई जहाज मार्फत रूपन्देही ल्याएर सोमबार नै बयान शुरू गरिएको थियो । उनलाई जिल्ला प्रहरी कार्यालय रूपन्देहीमा राखिएको छ । जिल्ला प्रहरी कार्यालय रूपन्देहीका अनुसार सम्भवतः मंगलबार जोशीको बयान सकेर पोखरा नै पठाइनेछ । 

सुप्रिम बहुउद्देश्यीय सहकारी संस्था बाट झण्डै १४ करोड रकम गोर्खा मिडिया नेटवर्कको खातामा गएको प्रहरी अनुसन्धानले देखाएको छ ।  प्रतिनिधि सभा सदस्य सूर्य थापा नेतृत्वको गठित संसदीय छानबिन विशेष समितिको सिफारिस कार्यान्वयनका क्रममा असोज ६ गते जोशी काठमाडौं बाट पक्राउ परेका थिए । 

पोखराको सूर्यदर्शन सहकारीको रकम ठगीमा हिरासतमा रहेका जोशी बुटवलको सुप्रिम सहकारीमा समेत मुछिएको आरोप छ । संसदीय छानबिन समितिले जोशी सहितका व्यक्तिलाई सहकारी ठगी प्रकरणमा कारबाही गर्न सिफारिस गरेको थियो ।  

सहकारीको रकम गोर्खा मिडिया नेटवर्कमा ल्याएर हिनामिना गरेको आरोप उनी माथि छ । सोही प्रकरणमा रा.स्व.पा.का सभापति रवि लामिछाने पनि अहिले पोखरा प्रहरीको हिरासतमा छन् ।

प्रतिक्रिया