प्रथम सोल्मा यु–१७ फुटबलको उपाधि सोल्मा स्पोर्टस् क्लबलाई

खोटाङ ।  प्रथम सोल्मा यु–१७ फुटबल प्रतियोगिताको उपाधि आयोजक सोल्मा स्पोर्टस् क्लब (निलो) ले जितेको छ । 

दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–२ सोल्मास्थित क्लबको खेल मैदानमा सोमबार साँझ सम्पन्न फाइनल खेलमा दिक्तेल फुटबल क्लब दिक्तेललाई ३–० हराउँदै आयोजक निलोले उपाधि जितेको हो ।

खेलको पहिलो हाफको नवौँ मिनेटमा सोल्मा निलोका खेलाडी प्रविण तामाङले गोल गर्दै अग्रता दिलाएका हुन् । दोस्रो हाफको २०औँ मिनेटमा सोल्मा निलोका गोलरक्षक पास्कल बस्नेतले पोष्ट बाट हानेको बल गोलमा परिणत भएपछि अग्रता दोब्बर भएको थियो । 

दोस्रो हाफको ३३औँ मिनेटमा सोल्मा निलोका खेलाडी तिलक कार्कीले तेस्रो गोल गरे पछि जीत सुनिश्चित भएको हो । उपाधि विजेता आयोजकले २५ हजार नगद, कप, मेडल र प्रमाणपत्र तथा उपविजेताले नगद १५ हजार नगद, कप, मेडल र प्रमाणपत्र प्राप्त गरेका छन् । 

प्रतियोगितामा विभिन्न विद्यागत पुरस्कार समेत वितरण गरिएको थियो । विभिन्न विधागत उपाधि अन्तर्गत सोल्मा निलोका खेलाडी तिलक कार्कीले बेष्ट प्लेयर, हाइ स्कोरमा प्रविण तामाङ, बेष्ट किपरमा पास्कल बस्नेत, बेष्ट डिफेण्डरमा दिलीप राई, बेष्ट मिडफिल्डरमा आशिष राई र बेष्ट कोचमा सनम राई घोषित भएका आयोजक सोल्मा स्पोर्टस् क्लबका सहसचिव अमर श्रेष्ठले जानकारी दिए ।

उनीहरू मध्ये बेष्ट प्लेयर कार्कीले नगद दुई हजार दुई सय २२, ट्रफी र प्रमाणपत्र तथा अन्य विद्याग पुरस्कार विजेताहरूले जनही नगद एक हजार एक सय ११ को साथमा ट्रफी र प्रमाणपत्र प्राप्त गरेका छन् । चाडबाडका बेला युवाहरूलाई सिर्जनात्मक गतिविधिमा संलग्न गराउँदै कुलतबाट जोगाउन फुटबल प्रतियोगिता आयोजना क्लबका अध्यक्ष ध्रुवबिक्रम राईले बताए । 

विजयी समूह तथा खेलाडीलाई जिल्ला खेलकुद विकास समिति खोटाङका अध्यक्ष रमेश राईले पुरस्कार वितरण गरेका थिए ।  यही कात्तिक २ गते देखि शुरु भएको प्रथम सोल्मा यु–१७ फुटबल प्रतियोगितामा जिल्लाका विभिन्न स्थानीय तहका आठ वटा क्लबका खेलाडी सहभागी भएका थिए ।
रासस 

प्रतिक्रिया