बोटे, दलित, चेपाङ, ब्रामु समुदायको निःशुल्क स्वास्थ्य बीमा
तनहुँ । तनहुँको देवघाट गाउँपालिकाले बोटे, दलित, चेपाङ, ब्रामु समुदायको निःशुल्क स्वास्थ्य बीमा गर्ने भएको छ । गाउँपालिकाले अल्पसङ्ख्यक तथा विपन्न समुदायको निःशुल्क स्वास्थ्य बीमा गर्ने भएको हो । पालिकाका पाँचवटै वडामा बसोबास गर्ने सीमान्तकृत बोटे र चेपाङसहित दलित र ब्रामु समुदायका बासिन्दाको निःशुल्क स्वास्थ्य बीमाको व्यवस्था गरिने गाउँपालिकाका अध्यक्ष तिलबहादुर थापाले जानकारी दिए ।
निःशुल्क स्वास्थ्य बीमाका लागि चालु आव २०८१÷८२ मा रु ११ लाख विनियोजन गरिएको थापाले बताए । उनले भने, “ती समुदायको मात्र नभइ अति विपन्न ब्राह्मण, क्षेत्रीका नागरिकको पनि गाउँपालिकाले स्वास्थ्य बीमा गरिदिने नीति लिएको छ ।”आर्थिक अभावमा पछाडि पारिएका समुदायहरु न्यूनतम स्वास्थ्य सेवाबाट वञ्चित हुन नपरोस् भनेर यसै आर्थिक वर्षदेखि ती जातिहरुको स्वास्थ्य सेवाको अधिकारलाई सुनिश्चित गरिएको अध्यक्ष थापाले बताए । उनले सीमान्तकृत र लोपोन्मुख समुदायका सदस्यहरुको स्वास्थ्य, शिक्षालगायत अन्य विभिन्न क्षेत्रमा पनि सहयोग गर्ने पालिकाको नीति रहेको उल्लेख गरे ।
प्रतिक्रिया