ओल्गा एक असाधारण समाजसेवी : मन्त्री डा. राणा
ललितपुर । परराष्ट्रमन्त्री डा. आरजु राणा देउवाले ओल्गा डेविस मरी एक असाधारण सामाजसेवी रहेको बताएकी छिन् ।नेपाल युथ फाउण्डेशनद्वारा ललितपुर महानगरपालिका–२२ चुनिखेलस्थित ओल्गापुरी भिलेजमा आयोजित स्वर्गीय मरीको सालिक अनावरण गर्दै मन्त्री डा. राणाले ओल्गाले जीवनमा आफूलाई हजारौँ बालबालिकाहरुको भविष्य निर्माणमा निस्वार्थ रूपमा समर्पित गरी असाधारण काम गरेको बताइन् ।
“ओल्गा एक असाधारण समाजसेवी हुन्, जसलाई म यहाँका हरेक बालबालिकामा पाउँछु, उनले गरेका कामले हामीलाई छोएको छ, जब मैले ओल्गाको सालिक अनावरण गरें, तब मैले उनले सृजना गरेको विरासत र उनले भविष्य निर्माण गरिदिएका हजारौँ मानिसको भावनालाई चीरस्मरणीय राख्न महत्वपूर्ण काम भएको महसुस गरेको छु”, डा. राणाले बताइन् ।ओल्गा डेविस मरी नेपाल युथ फाउण्डेशनको संस्थापक हुन् । अमेरिकी नागरिक मरीले फाउण्डेशनमार्फत विगत ४० वर्षदेखि नेपाल र नेपाली बालबालिकाहरुका लागि जीवन समर्पित गर्दै आएका थिए । अवसरविहिन बालबालिका र युवाको भविष्य निर्माण गर्न सहयोग पुर्याउने हेतुले सञ्चालित ओल्गापुरी भिलेज बालबालिका र युवाका लागि मरीको अमूल्य उपहार भएको संस्थाका कार्यकारी निर्देशक राजु धमलाले बताए ।
मरीले पुर्याएका योगदानको कदर गर्दै सरकारले गोर्खा दक्षिणबाहु विभूषणबाट सम्मानित गरेको थियो । सरकारले उनलाई नेपालका लागि आजीवन आवासीय भिषा प्रदान गरेको थियो । ओल्गा मरीको ९८ वर्षको उमेरमा गत फ्रेब्रुअरी २०२४ मा देहान्त भएको थियो । फाउण्डेशनले ओल्गापुरी भिलेज हाताभित्र मरीको सालिक स्थापना गरेको हो ।सालिक अनावरण कार्यक्रममा बागमती प्रदेशका यातायातमन्त्री प्रेमभक्त महर्जन, ललितपुर महानगरपालिकाका प्रमुख चिरीबाबु महर्जन, नेपालका लागि अमेरिकी राजदूत डिन आर थोम्प्सन, महानगर उपप्रमुख मञ्जली शाक्य बज्राचार्य, ललितपुरका प्रमुख जिल्ला अधिकारी तुलसीबहादुर श्रेष्ठलगायतको उपस्थिति रहेको थियो ।
प्रतिक्रिया