उपचारमा रगत अभाव हुन नदिन सघन रक्तदान आयोजना हुँदै

महोत्तरी । चाडबाडका बेला हुने समस्या र उपचार कार्यमा रगत अभाव हुन नदिन नेपाल रेडक्रस सोसाइटी बर्दिबास उपशाखाले सघन रक्तदान अभियान सञ्चालन गरिरहेको जनाएको छ । दशैंताका अस्पतालहरूमा माग गरेबमोजिम रगत आपूर्ति नहुँदा भोगेका समस्यालाई दृष्टिगत गर्दै तिहार र छठका समयमा रगतको सहज आपूर्तिका लागि विभिन्न ठाउँमा रक्तदान अभियान आयोजना तथा संयोजन गरिएको रेडक्रस बर्दिबासका उपसभापति रेवन्त कार्कीले जानकारी दिए ।

यसपालि दशैंमा उपशाखाले सञ्चालन गरेको रक्तसञ्चार केन्द्रमा पर्याप्त रगत नहुँदा आकस्मिक रूपमा  रक्तदाता खोजेर बिरामीलाई दिनु परेको उनले सुनाए । यसै अवस्थालाई दृष्टिगत गर्दै तिहार र छठका बीचमा उपचार कार्यमा रगत अभाव हुन नदिन हाल विभिन्न ठाउँमा रक्तदान कार्यक्रमको संयोजन भइरहेको र हालसम्म दुई सय पिन्ट रगत सङ्कलन गरिएको उपाध्यक्ष कार्कीले जानकारी दिए । कात्तिक लागेको गत बिहिबारयता वित्तीय तथा सामाजिक सङ्घसंस्थाहरुले एकपछि अर्को रक्तदान कार्यक्रम आयोजना गरीरहेका छन् ।

यस क्रममा आइतबारसम्म दुई सय २५ पिन्ट सङ्कलन भएको रेडक्रस बर्दिबास उपशाखाले जनाएको छ ।“हाल विभिन्न ठाउँमा कार्यक्रम भइरहेका छन्, अझै दुई/तीन दिनसम्म रक्तदानका कार्यक्रम तय गरेका छौँ”, उपशाखाको रक्तसञ्चार केन्द्र प्राविधिक शाखा प्रमुख सिर्जना देवकोटाले भनिन, “अब छठसम्मै यस भेगका कुनै पनि अस्पताल र बिरामीले उपचारमा रगतको अभाव खेप्नु पर्दैन ।”जिल्लामा रक्तसञ्चार केन्द्र सञ्चालन गर्ने रेडक्रस बर्दिबास उपशाखा मात्र रहेको छ । यस उपशाखाले पछिल्लो एक वर्षयता महिनामा करिब तीन सय पिन्ट रगत अस्पतालहरूलाई पठाउँदै आएको छ ।

यसपालि दशैंंमा रगतको केही अभाव भएपछि तिहार र छठमा सो समस्या दोहोरिन नदिन आवश्यक सतर्कता अपनाइएको प्राविधिक शाखा प्रमुख देवकोटाले बताइन् । “अब हामी ढुक्क भएका छौँ, उपचारका लागि मागबमोजिम रगत उपलब्ध गराउन सक्छौँ ”, उनिले भनिन, “आउने छठ पर्वसम्ममा पाँच सय पिन्ट रगत सङ्कलन हुने गरी रक्तदान अभियान अगाडि बढाएका छौँ ।”बर्दिबासस्थित रक्तसञ्चार केन्द्रबाट यहाँ पाँच अस्पताल, गौशाला र जलेश्वर एवं जनकपुरस्थित अस्पतालहरूमा मागअनुसार रगत जाने गरेको उपशाखाका सभापति कार्कीले जानकारी दिए । 

प्रतिक्रिया