संस्कृतिभित्र राजनीति घुसाएर भाँडभैलो गर्ने तरिका उचित होइन : प्रधानमन्त्री ओली

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले संस्कृतिभित्र राजनीतिको रोटी सेक्ने प्रवृत्ति गलत हुने बताएका छन् ।

प्रधानमन्त्री निवास, बालुवाटारमा आज ‘नेपाल संवत् न्यूदयाँ ११४५ समारोह समिति’ले दिएको ध्यानाकर्षणपत्र बुुझ्दै ओलीले नेपालको मौलिक संस्कृति र परम्पराभित्र राजनीति घुसाएर भाँडभैलो गर्ने तरिका उचित नहुने बताए ।

“राजनीति र अर्थतन्त्र बिग्रिएमा केही वर्षमा माथि उठाउन सकिन्छ । तर संस्कृतिमा अधपतन भएमा यसलाई उठाउन वर्षाैं लाग्न सक्छ । यसतर्फ हामी सचेत हुनुुपर्छ”, उनले भने । 

इन्द्रजात्राजस्ता पर्वहरुमा भएका कतिपय भड्कावपूर्ण गतिविधिप्रति लक्षित गर्दै प्रधानमन्त्री ओलीले नेवारी संस्कृतिभित्र आदिवासी, शास्त्रीय र अत्याधुनिक वाद्यवादन तथा विशेष धूनहरु रहेको तथा यसको संरक्षणमा भइरहेका प्रयासको उनले प्रशंसा गरे ।

यस वर्षको नेपाल संवत् ११४५ कछलाथ्व पारु यही कात्तिक १७ गते मनाइँदैछ । उक्त दिन बिहान भक्तपुरको मध्यपुर थिमीस्थित साख्वाको प्रतिमामा माल्यार्पण र काठमार्डौको वसन्तपुरमा विशेष कार्यक्रम हुनेछ । समारोह समिति र प्रतिष्ठानले ती कार्यक्रममा  प्रधानमन्त्री ओलीलाई प्रमुख आतिथ्यताका लागि निमन्त्रणा दिएको छ ।
 

प्रतिक्रिया