रवि लामिछाने पक्राउको बिरोधमा आज पनि कार्यकर्ताद्वारा पोखरामा प्रदर्शन

काठमाडौं । पार्टी सभापति रवि लामिछानेलाई पक्राउ गरेको विरोधमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले आजपनि कास्कीमा प्रदर्शन गरेको छ ।

राजनीतिक प्रतिशोधका आधारमा लामिछानेलाई पक्राउ गरेको भन्दै रास्वपाले पोखराको पृथ्वीचोकमा प्रदर्शन गरेको हो । प्रदर्शनमा सहभागीहरूले ‘सहकारीपीडितलाई न्याय दे’, ‘माफियाहरूलाई कारबाही गर’ भन्दै नारा लगाएका छन् ।

गत शुक्रबार पक्राउ परेकालामिछानेलाई जिल्ला अदालत, कास्कीले ६ दिन हिरासतमा राख्न अनुमति दिएपछि पनि रास्वपाले पृथ्वी चोकमा खबरदारी सभा गरेको हो । सभापति लामिछाने पक्राउ परेसँगै रास्वपाले पोखरा केन्द्रित प्रदर्शन गर्दै आएको छ । पोखरामा हुने प्रदर्शनमा प्रत्येक जिल्लाबाट कम्तिमा १ सय जना कार्यकर्तालाई पोखरा आउन पार्टीले सर्कुलर समेत जारी गरेको छ ।

आईतबार प्रहरी र प्रदर्शनकारीवीच तनाव समेत भएको थियो । प्रदर्शनकारी जिल्ला अदालततर्फ बढेपछि प्रहरीलेअश्रुग्यास र पानीको फोहराले तितरवितर पारेको थियो । प्रदर्शन हुने सम्भावनालाई लक्षित गरेर जिल्ला प्रशासन कार्यालय कास्कीले पोखराको शहीदचोक आसपास क्षेत्रलाई निषेधित घोषणा गरेको छ । शनिबार चिप्लेढुङ्गामा विरोध सभा गरेको रास्वपाले आइतबार शहीदचोकमा कार्यकर्ता उतारेको थियो । सोमबार प्रदर्शनस्थल परिवर्तन गरेर पृथ्वीचोकमा सारिएको हो । विरोध प्रदर्शन शान्तिपूर्ण हुने रास्वपाका नेताहरुले बताएका छन् । 

लामिछानेलाई संसदीय छानबिन विशेष समितिले पोखराको सुर्य दर्शन लगायतका सहकारीको बचत अपचलन गरेको निष्कर्ष निकालेको थियो । समितिले उनलाई सहकारी बचत अपचलन गरेकोमा अनुसन्धान गर्न सिफारिस गरेको थियो ।लामिछानेमाथि गोर्खा मिडिया नेटवर्कको तत्कालीन प्रबन्ध निर्देशक हुँदा सहकारीको बचत सो मिडियामा लगेर अपचलन गरेको आरोप छ । लामिछानेलाई गत शुक्रबार काठमाडौंबाट पक्राउ गरेर पोखरा लगिएको हो । 

प्रतिक्रिया