दल विभाजन गर्ने अध्यादेश ल्याउँदै सरकार, मध्यराति देउवाले जनाए सहमति

काठमाडौं । सरकारले राजनीतिक दलसम्बन्धी अध्यादेश ल्याउनेगरी छलफल अगाडि बढाएको छ । गएराति अबेरसम्म बसेको एमाले र कांग्रेसका नेताहरूबीचको बैठकमा अध्यादेश ल्याउने विषयमा सहमति भएको गोप्य स्रोतले बतायो । 

स्रोतका अनुसार प्रधानमन्त्री केपी शर्मा ओलीले अध्यादेश ल्याउन गरेको प्रस्तावमा कांग्रेस सभापति शेरबहादुर देउवाले सहमति जनाएका थिए । विशेषगरी नेकपा (एकीकृत समाजवादी)लाई विभाजन गर्नेगरी अध्यादेश ल्याउन तयारी भएको हो । 

एकीकृत समाजवादीमा असन्तुष्ट कम्तिमा पाँच जना सांसद एमालेमा जान तयार छन् । एकीकृत समाजवादीका सांसद प्रेम आलेले माधव नेपालको पार्टीमा नहुने निश्चित भइसकेको बताए ।

अध्यादेश ल्याउने विषयमा निकै अगाडिदेखि छलफल भएपनि आइतबार रातिमात्रै कांग्रेस सभापति देउवा सहमत भएका हुन् ।

अध्यादेश ल्याउने खबर सुनेपछि एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले त्यसबारेमा बुझ्न कानुनविद गोविन्द बन्दीलाई शुक्रबार शेरबहादुर देउवालाई भेट्न पठाए । 

भेटमा देउवाले आफू ओलीलाई दुखि बनाउने पक्षमा नरहेको जवाफ फर्काएका थिए । यद्यपी बन्दीले भने आफूले देउवालाई भेटेको इन्कार गरेका छन् ।

गएराति देउवा र ओलीका बीचमा भएको छलफल विष्णु पौडेल, शंकर पोखरेल,  रमेश लेखक, गगन थापा, विष्णु रिमाल लगायतका नेताहरू बैठकमा सहभागी भएका थिए ।

प्रधानमन्त्री केपी शर्मा ओलीले साँझ ५ बजे बस्नेगरी आजैका लागि मन्त्रिपरिषद् बैठक बोलाएका छन् । अध्यादेश ल्याउने विषयमा कुराकानी भएको र आजैको बैठकमा आउँछ या आउँदैन यसै भन्न नसकिने सत्तारुढ दलका एक नेताले भने ।

प्रतिक्रिया