एमालेको चिन्ता अरू पार्टीका नेता कार्यकर्ताले नगर्न शंकर पोखरेलको सुझाव

काठमाडौँ । नेकपा (एमाले)का महासचिव शंकर पोखरेलले अरू पार्टीका नेता कार्यकर्तालाई एमालेको चिन्ता नगर्न सुझाव दिएका छन् । सोमबार सामाजिक सञ्जाल फेसबुकमा स्टाटस लेखेर महासचिव पोखरेलले एमालेले गरेको निर्णयको आलोचना र चिन्ता अरू पार्टीका नेता कार्यकर्ताहरूले लिनुनपर्ने बताएका हुन्।

पोखरेलले फरक पार्टीका नेता र कार्यकर्ताहरूलेनेकपा (एमाले) को भविष्यका बारेमा चिन्ता गर्दै सामाजिक सञ्जालमा अनेकन् सुझाव दिइरहेको भन्दै एमालेले गरेका निर्णयहरूको कटु आलोचना नगर्न भनेका छन् । 

‘राजनीति गर्नेहरूले आ-आफ्नो पार्टी राम्रो बनाउन लागे अरूका बारेमा चिन्ता गर्नै पर्दैन नि १’, पोखरेलले लेखेका छन् । साथै उनले नेकपा (एमाले)लाई कस्तो बनाउने नेकपा (एमाले) जनलाई नै छोडिदिन आग्रह गर्दै जनता के चाहन्छन् ? र राष्ट्रको आवश्यकता के हो रु भन्ने नेकपा (एमाले)लाई राम्ररी थाह भएको बताएका छन् । 

‘त्यही भएर नै नेकपा (एमाले) आजको कुरामा मात्र नअल्झेर भविष्यको कुरामा केन्द्रित छ । बलियो र निर्णायक राष्ट्रिय शक्ति निर्माणमा जुटेको छ’, पोखरेलले थप भनेका छन्,‘कुन पार्टी कस्तो भन्ने कुराको परीक्षण त सामाजिक सञ्जालले होइन आवधिक निर्वाचनले गर्ने हो । त्यसका लागि नेकपा (एमाले) हरदम तयार छ ।’

नेकपा एमालेले व्यवसायी मीनबहादुर गुरुङले दान दिएको जग्गा लिएको भन्दै सामाजिक सञ्जालमा चर्को आलोचना हुन नछाडेपछि पोखरेलले यस्तो लेखेका हुन् ।
भाटभटेनीका सञ्चालक मीनबहादुर गुरूङबाट जग्गा दानमा लिने निर्णयबारे सार्वजनिक मञ्चदेखि सामाजिक सञ्जालमा आलोचना भइरहेको छ।

प्रतिक्रिया