रास्वपाको दबाबमा परेर सरकार भ्रष्टाचारका पुराना फाइल खोल्न बाध्य भयो: रवि लामिछाने

राष्ट्रिय स्वतन्त्र पार्टी ९रास्वपा०का सभापति रवि लामिछानेले सरकारले आफ्नो पार्टीको दबाबमा परेरसरकारले पुराना भ्रष्टाचारको फाइल खोल्न बाध्य भएको बताएका छन्।  सोमबार काठमाडौंमा आयोजित पार्टीको सुदूरपश्चिम–काठमाडौं सम्पर्क भेलामा बोल्दै लामिछानेले आफ्नो पार्टीले भ्रष्टाचारविरुद्ध बुलन्द आवाज उठाएपछि सरकार पनि बाध्य भएर भ्रष्टाचारका पुराना फाइल खोल्न अघि सर्नुपरेको बताएका हुन् । 

भ्रष्टाचारको फाइल नखोल्ने हो भने ०८४ सालको निर्वाचनमा आफूहरूको हविगत कमजोर हुने देखेपछि सरकार र अन्य राजनीतिक दलहरू पनि भ्रष्टाचारविरोधी अभियानमा लागेको उनको भनाइ थियो।

आगामी निर्वाचनसम्म सुशासनको क्षेत्रमा सरकारले केही काम गरे आफ्नो पार्टीका लागि खुसीको कुरा हुने बताउँदै सभापति लामिछानेले नेपाली जनता आफैँले कोरेको समृद्धिको खाकालाई सार्थक बनाउन सुशासनको प्रत्याभूति चाहिने उल्लेख गरे। उनले त्यसमा सरकारले केही गर्नुलाई आफ्नो पार्टीले गलत अर्थमा नलिने पनि पटक–पटक दोहोर्‍याए। 

सभापति लामिछानेले आफ्नो पार्टीले आगामी निर्वाचनसम्ममा विदेशमा बस्ने नेपालीलाई मतदान गर्नका लागि आवश्यक व्यवस्था मिलाउने प्रयास गरिरहेको बताए। 

उनले घरघरमा राष्ट्रिय स्वतन्त्र पार्टी पुर्‍याउने गरी अघि बढ्न पनि पार्टीका नेता, कार्यकर्तालाई सचेत गराए। सभापति लामिछानेले सुदूरपश्चिमका जनताको अवस्थामा परिवर्तन ल्याउने गरी आफ्नो पार्टी अघि बढ्ने आश्वासनसमेत दिए। 

प्रतिक्रिया