पाडी बाछी हुर्काउन तनहुँमा अनुदान वितरण


तनहुँ । गण्डकी प्रदेश सरकारले यस वर्ष तनहुँमा पाडी र बाछी हुर्काउन  ६०  लाख ४० हजार रुपैयाँ अनुदान वितरण गरेको छ ।

कृत्रिम गर्भाधानबाट जन्मिएका उन्नत जातका छ सय चारवटा पाडीबाछी हुर्काउन  १० हजारका दरले उक्त अनुदान रकम प्रदान गरेको हो । आर्थिक वर्ष २०८०/८१ मा तीन सय ३१ आवेदन परेकामध्ये छनोटमा परेका तीन सय २७ किसानले अनुदान पाएको भेटेरेनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र तनहुँले जनाएको छ ।

विगत तीन वर्षदेखि पाडी र बाछी हुर्काउन प्रोत्साहन कार्यक्रम सञ्चालन गर्दै आएपछि कार्यक्रम प्रभावकारी बन्दै गएको केन्द्र प्रमुख डा. राजेशकुमार चौधरीले जानकारी दिए । पहिलो वर्ष एक सय, दोस्रो वर्ष दुई सय र तेस्रो वर्ष छ सय चारवटा पाडी–बाछीका लागि बजेट विनियोजन गरिएको थियो ।

गत वर्षको तुलनामा यस आर्थिक वर्षमा तीन सयवटा पाडी बाछी हुर्काउनका लागि बजेट विनियोजन भएको छ, चौधरीले भने, “बजेट घटेर आएका कारण यस वर्ष पाडी बाछी हुर्काउने सङ्ख्यामा कमी आएको छ ।” पाडी–बाछी हुर्काउन अनुदान पाउन यस वर्ष आवेदन खोलिसकेको र किसानबाट आवेदन आउने क्रम जारी छ । यस वर्ष  ३० लाख बजेट विनियोजन भएको सो केन्द्रले जनाएको छ ।

जिल्लाका १० वटा पालिकामध्ये सबैभन्दा धेरै बन्दीपुरमा दुई सय २१, व्यास नगरपालिकामा दुई सय आठ, आँबुखैरेनीमा ८४, भानुमा ४५, म्याग्देमा २५, देवघाटमा १२, शुक्लागण्डकीमा आठ र ऋषिङमा एकवटा छनोटमा परेको थियो । आवेदनका आधारमा किसानका गोठमा पुगेर स्थलगत अनुगमन गरी अनुदान दिइएको उनले बताए । एकजना पशुपालक किसानले बढीमा पाँच वटासम्म पाडी बाछीका लागि अनुदान पाउनेछन् ।

अनुदान पाउन पाडीबाछीको उमेर एक वर्ष पूरा भएको हुनुपर्ने मापदण्ड रहेको केन्द्रले जनाएको छ । बाह्य जिल्लाबाट ल्याइएका पशुका तुलनामा जिल्लाभित्रै हुर्किएका पाडीबाछीमा कम रोग लाग्ने भएकाले पशु आयात न्यूनीकरण गर्न अनुदान दिइएको केन्द्रका प्रमुख चौधरीले बताए । 

रासस

प्रतिक्रिया