राष्ट्रिय भलिबल टोलीका कप्तान श्रेष्ठद्वारा खेलबाट सन्यास


काठमाडौं । नेपाली राष्ट्रिय भलिबल टोलीका कप्तान मानबहादुर श्रेष्ठले राष्ट्रिय र अन्तर्राष्ट्रिय भलिबल खेलबाट सन्यास लिएका छन् । सामाजिक सञ्जालमा आज आइतबार एक श्रव्यदृश्य सन्देश सार्वजनिक गर्दै कप्तान श्रेष्ठले धेरै सोच विचार गरेर राष्ट्रिय टोली र अन्तर्राष्ट्रिय खेलबाट सन्यास लिएको बताए ।

नेपाल भलिबल सङ्घले उनलाई गत वर्ष साउनमा राष्ट्रिय भलिबल टोलीको कप्तान पदमा नियुक्त गरेको थियो । श्रेष्ठले सन् २०१५ मा बङ्गलादेशमा सम्पन्न एभिसी सेन्ट्रल जोन भलिबल प्रतियोगिताबाट राष्ट्रिय टोलीमा ‘डेब्यू’ गरेका थिए । त्यसयता उनी निरन्तर टोलीमा थिए ।

श्रेष्ठले यो जिम्मेवारी नयाँ पुस्तालाई सुम्पिने समय आएका कारण आफूले सन्न्यास लिएको बताए । त्रिभुवन आर्मी क्लबबाट घरेलु भलिबल खेल्दै आएका २७ वर्षीय श्रेष्ठले यसअघि राष्ट्रिय बिच भलिबल टोलीको कप्तानीको भूमिका पनि निर्वाह गरेका थिए । नेपालले गत वर्ष उनकै कप्तानीमा १९औँ एसियाली खेलकुद प्रतियोगितामा भाग लिएका थिए । श्रेष्ठ राष्ट्रिय पुरुष भलिबल टोलीको ११औँ कप्तान हुन् ।

प्रतिक्रिया