माओवादी नेताहरुलाई तस्बिर खिच्दा ख्याल गर्न प्रधानमन्त्री दाहालकाे सुझाव

सुन तस्करीमा माओवादी नेताहरुको नाम जोडिएको विषयमा सचिवालय बैठकमा छलफल भएको छ । आज विहान प्रधानमन्त्री निवास बालुवाटारमा भएको बैठकमा प्रधानमन्त्री एवं पार्टी अध्यक्ष पुष्पकमल दाहालले सो प्रकरणमा चासो राखेका हुन । सुन तस्करीमा मुछिएका दावा छिरिङसँग माओवादी केन्द्रका नेताहरु वर्षमान पुन, ओनसरी घर्ती र पूर्व उपराष्ट्रपति नन्दबहादुर पुन समेत सँगै बसेको तस्बिर सार्वजनिक भएको विषयमा पनि बैठकमा चर्चा भएको नेताहरुले बताएका छन । बैठकमा नेताहरुले तस्बिरबारे प्रश्न गरेपछि प्रधानमन्त्री समेत रहेका दाहालले पनि चासो राख्दै नेताहरुलाई तस्बिर खिच्दा ख्याल गर्न सुझाव दिएका हुन । अहिले तस्बिरलाई लिएर अहिले अनुसन्धान नै प्रभावित गर्ने गरी प्रचार भएको भन्दै दाहालले चासो राखेका हुन । प्रधानमन्त्री दाहालले सुन तस्करीको जरोसम्म पुगेर अनुसन्धान गर्ने पुनः प्रतिबद्धता जनाए । यसैविच सत्तारुढ नेकपा माओवादी केन्द्रले आगामी मंसिरमा विधान सम्मेलन गर्ने भएको छ । पदाधिकारी बैठकले साउन सत्र गतेदेखि बस्ने केन्द्रीय समिति बैठकका एजेन्डा तय गर्दै सो निर्णय गरेको हो । यस्तै फागुन–चैतमा विशेष महाधिवेशन गर्ने प्रस्ताव गरिएको छ । पदाधिकारीको प्रस्ताव केन्द्रीय समितिको बैठकबाट अनुमोदन गर्ने माओवादीको तयारी छ । यस्तै पदाधिकारी बैठकले नेताहरुको कार्यविभाजन प्रस्ताव पनि तय गरेको छ । जसअनुसार देशभरका सबै पालिकाका वडा तहसम्म पुग्न तीनमहिने कार्यक्रम हुने भएको छ । जनता, संगठन र सदस्यता वितरणलाई सो तीन महिनाभित्रमा सम्पन्न गरी आगामी मंसिरमा विधान सम्मेलन गर्ने माओवादी केन्द्रको तयारी छ । त्यसैगरी माओवादीले पनि केन्द्रीय कमिटीको बैठकको प्रतक्ष्य प्रशारण गर्ने भएको छ । साउन १७ गतेदेखि सुरु हुने केन्द्रीय कमिटीको बैठक प्रतक्ष्य प्रशारण गर्ने निर्णय पदाधिकारी बैठकले गरेको हो ।
 

प्रतिक्रिया